काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीतिबाट उद्योगीले धेरै आश गरेको बताएका छन्। बिजमाण्डू अनलाइनले बुधबार आगामी मौद्रिक नीतिका बारेमा आयोजना गरेको छलफलमा उनले चुनौतीको बेला आउने मौद्रिक नीतिमा धेरै अपेक्षा रहेको भनाइ राखे।
उद्योगी व्यावसायीहरु तरलता र यसका प्रभावका कारण ठूलो समस्यामा परेको उनले बताए। ‘यस्तो प्रभाव मैले जीवनमा देखेको थिइन, समस्या गहन छ। बजारमा मन्दीको स्थिति छ। पैसा छैन, नयाँ लगानी आएको छैन। कसरी ऋण तिर्ने ? समस्या समाधान नभए मन्दीमा जान्छ,’ उनले भने।
‘मुद्रास्फीति ८ प्रतिशतको कुरा गरिरहेका छौं। होलसेल मार्केटमा १८ प्रतिशत मुद्रास्फीति छ। मानिसहरु कसरी जीवन चलाउने भनेर सोचिरहेका छ्न्,’ उनले भने, ‘५० लाख डिम्याट खाता खोलेर कारोबार गरिरहेका छ्न्, जसमा साना र मझौला उद्योगी पनि छ्न। मौद्रिक नीतिले कसरी राहत देला भन्ने सबैको चासो छ।’ अवस्था असहज भएको भनाइ उनले राखे।
‘ब्लड बाथको स्थिति छ। ट्रेजरी बिलको ब्याज १० प्रतिशत नाघेको छ। इन्टर-बैंक ब्याजदर ५ प्रतिशत नाघेको छ। तरलता सुधार हुने संकेत छैन। व्यापार घाटा १६ खर्ब छ। शोधानान्तर घाटा २० खर्ब नाघेको छ,’ उनले भने, ‘कुनै जादूको छडी छैन एकैपटक तरलताको समस्या समाधान गर्न ! कसरी अघि बढ्ने ? सीडी रेसियो परिमार्जन गर्न ध्यान दिनुपर्छ। निर्यात प्रोत्साहन गर्नु पर्छ। भ्यालु एडिसन गर्ने उद्योगले सुविधा पाउनै पर्छ।’
आयात प्रतिबन्ध हुने सामानको सूची बढिरहेकोमा उनले चिन्ता जनाए। ‘राजस्वमा असर परेको छ। सोच्ने कि ? विदेशी लगानी आकर्षित गर्न स्वचालित प्रणाली लागू गर्नुपर्छ। नियमावली छिटै बनाउनु पर्यो। कन्ट्री रेटिङ गर्न एक्सरसाइज गर्नुपर्छ,’ उनले भने, ‘गरौं। ४/१२ को नीति ले निराशा छाएको छ। यसलाई पुनर्विचार गर्नुपर्छ। निजी क्षेत्र निराश छ। मौद्रिक नीतिले प्रोत्साहन गर्नुपर्छ।’
बढदो ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने उनले बताए। ‘उत्पादनमूलक उद्योगलाई कम ब्याजदर भनिएको छ, पाएका छैनौ। ध्यान दिनुपर्छ,’ उनले भने, ‘बाह्य कारणले समस्या छ। यो मौद्रिक नीतिको ठूलो चुनौती हो । प्रभावित क्षेत्रलाई दिएको पुर्नकर्जालाई निरन्तरता दिनुपर्छ।’