
नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य आरम्भ गर्नुभयो । नेपाल इन्भेष्टमेण्ट बैंक तथा हिमालयन बैंक दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जरपछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी रु.१६.२६ अर्ब तथा हिमालयन बैंक लि. को चुक्ता पुँजी रु. १०.६८ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु.२६.९४ अर्ब भै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको जगेडा तथा कोष रु. १४.१० अर्ब र हिमालयन बैंकको रु. ७.६७ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंकको रु. १६०.९८ अर्ब र हिमालयन बैंकको रु. १२७.१४ अर्ब, र निक्षेपतर्फ नेपाल इन्भेष्टमेण्ट बैंकको रु. १६८.२९ अर्ब र हिमालयन बैंकको रु. १४३.७० अर्ब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।
दुबै बैंकहरु एक आपसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धता दुबै बंैकका अध्यक्षहरुले व्यक्त गर्नुभएको थियो ।