
काठमाडौं । सगरमाथा क्षेत्रको पर्यावरण र कला अवलोकनका लागि प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ। ३ हजार ७ सय ७५ मिटरको उचाइमा रहेको स्याङबोचेमा सगरमाथा नेक्स्ट औपचारिक रूपमा सञ्चालनमा आएको हो। नवप्रवर्तनको यो केन्द्र लगभग सात वर्षको योजना र निर्माणपछि सञ्चालनमा आएको सगरमाथा नेक्स्टका सह-संस्थापक वरुण सराफ र टमी गुस्टाफसन बताउँछन्।
दुई साता अघिदेखि सञ्चालनमा आएको प्रदर्शनी केन्द्रका लागि हिमालयन म्युजियम एण्ड सस्टेनेबल पार्कले उद्घाटन समारोह आयोजना गरेको थियो। कार्यक्रममा सोनाम ग्याल्जेन (सांसद), अरुण सराफ (सराफ फाउण्डेसन), रेनहोल्ड मेसनर (प्रसिद्ध पर्वतारोही), फुर्वा टासी (२१ पटक सगरमाथा आरोहण गरिसकेका स्थानीय पर्वतारोही) मुख्य अतिथि थिए। कार्यक्रममा खुम्बु क्षेत्रका (खुम्जुङ, खुन्दे, नाम्चे, फोर्टसे, थामे, थामोलगायत) का स्थानीय बासिन्दाको सहभागिता थियो।
सगरमाथा नेक्स्ट यी हिमालहरूको पुनर्स्थापना, फोहोर व्यवस्थापनका चुनौतीहरूलाई सम्बोधन गर्न र राष्ट्रिय निकुञ्जमा दिगो पर्यटन प्रवर्द्धन गर्न समर्पित केन्द्र हो। सगरमाथा नेक्स्टमा, हिमालको फोहोरबाट सुन्दर कला र डिजाइनका उत्पादनहरूमा परिणत गर्दै स्थानीय बासिन्दाहरूको लागि आशाको किरणहरू सिर्जना गर्ने सह-संस्थापकहरू बताउँछन्।
यस केन्द्रमा एक अन्तरक्रियात्मक प्रदर्शनी छ जसमा डिजिटल टच स्क्रिनहरू तथा र भीआर हेडसेटहरू छन्। यहाँ आगन्तुकहरूले पर्वतारोहण, संस्कृति र क्षेत्रहरूको चुनौतीहरू बारेमा बुझ्न र मानिसहरूलाई खुम्बु बरफमा हिंडेको अनुभव लिन सक्छन्। साथै फिल्म सैलुनमा दुई फिल्म छन्, जसलाई दर्शकहरूले बसेर हेर्न सक्छन्।
वेस्ट ल्याबमा अपसाइक्लिङ कार्यशालाहरू छन्, जहाँ कलाकारहरू र डिजाइनरहरूले उनीहरूको नवीन पक्ष अन्वेषण गर्न सक्छन्। यस बाहेक केन्द्रमा सप बाइ मोवेर र एउटा क्याफे पनि छ।