२०८१ मंसिर २२ शनिबार

काठमाडौं । सेयर बजार निरन्तर घट्दै २१ सय विन्दु भन्दा मुनि झरेको छ । शुक्रबार बजारले २१ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो । यस दिन नेप्से सूचक ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

सबै समूह राताम्य भएका छन् । नेप्से एकतर्फीरुपमा अनि निरन्तर हिसाबले तल झरिरहेको छ । यसबीचमा लगानीकर्ताले बजारबाट खरबौं रुपैयाँ गुमाइसकेका छन् ।

नेप्से सूचकमा ११ सय अंक भन्दा पनि बढीको गिरावट आइसकेको छ । राष्ट्र बैंकको गलत नीतिका कारण लगातार घटिरहेको बजार सुधार्नेतर्फ अहिलेसम्म कुनै पनि पहल भएको छैन । सरकार र नियामक निकायहरु चुपचाप बसिरहेको अवस्था छ । यसबीचमा साना र नयाँमात्र नभई ठूला र अनुभवी लगानीकर्ताहरुले समेत खरबौं रुपैयाँ गुमाइसकेको अवस्था छ ।

लगातार बजार तल झरिरहँदा पनि सुधार्नका लागि कुनै पहल नहुँदा आम लगानीकर्ता निकै प्रताडित भएका छन् । सरकार तथा नियामक आँखा चिम्लेर बसेका छन् । लगानीकर्ताले खरबौं रुपैयाँ गुमाउँदासमेत सुधारका कुनै कार्यक्रम आएको छैन ।

कमजोर कम्पनीमात्र होइन, सबल वित्तीय सूचक भएकै कम्पनीहरुको मूल्य पनि यसबीचमा ७०% भन्दा बढीले घटिसकेको छ । यसआधारमा बजार करिब १० महिनाको अवधिमा अस्वभाविकरुपमै घटेको भन्न सकिन्छ ।

पछिल्लो समय मौद्रिक नीति समीक्षा र बजेट पनि सार्वजनिक भइसकेपछि लगानीकर्ता थप प्यानिक हुने अवस्था आएको छ । अहिले बजार झनै तीब्रदरमा घटिरहेको छ । मौद्रिक नीति समीक्षा र बजेटमा बजारका समस्या सम्बोधन हुने अपेक्षामा लगानीकर्ता रहेका थिए ।

तथापि, बजेटमा पुँजी बजार सुधारका थुप्रै कार्यक्रम आएका छन् । तर ती कार्यक्रमहरुमा ठोस र तत्काल कार्र्यान्वयन हुने किसिमका नभएको लगानीकर्ताहरुको भनाई छ ।

लामो सयमदेखि प्यानिक भएको बजारलाई सुधार्न तत्काल प्रभाव पार्न सक्ने किसिमको नीति चाहिएको छ । पुँजीगत लाभकरको दर घटाउने लगायतका सुधारका कार्य आएको भए त्यसले बजारलाई सकारात्मक प्रभाव पार्न सक्ने लगानीकर्ताहरुको भनाई छ । त्यसो त अब नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने दिन पनि नजिकिएको छ ।

करिब डेढ महिनामा अर्थात् साउन पहिलो साता मौद्रिक नीति आउनेछ । त्यसबेला सेयर धितो कर्जाको ४–१२ को सीमा खुकुलो बनाइएमा त्यसले सेयर बजारमा सहज वातावरण पैदा गर्नेछ । ४–१२ को सीमा यथावत् रहँदा बजार माथि जान सक्ने अवस्था नरहेको विश्लेषकहरु बताउँछन् ।

यसैगरी, बजार घट्नुमा तरलता अभाव र चर्को ब्याजदर पनि प्रमुख कारण बनिरहेका छन् । तथापि, थोरै भए पथिापि, चुनावपछि तरलता अवस्थान सहज देखिएको छ । वित्तीय प्रणालीमा निक्षेप थपिएको छ तर यो पर्याप्त भने छैन ।

लामो समयदेखि गिरेको आत्मबल सुधार्न तत्काल राहत पुग्ने कार्यक्रम लगानीकर्ताले खोजिरहेका छन् । तर व्यवहारमा सरोकारवाला कुनै पनि निकायबाट यस्तो कार्यक्रम आउन सकेको छैन ।

नियामक निकायहरुले बजार सुधार र आधुनिकीकरणका नयाँ र भरपर्दा कार्यक्रम ल्याउन जरुरी देखिएको छ । आम लगानीकर्ता पनि बजारप्रति सकारात्मक हुन आवश्यक छ । घटेको बजार फेरि बढ्छ भन्नेमा विश्वस्त हुनुपर्ने विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय