२०८१ मंसिर २२ शनिबार

काठमाडौं । तारा एअरको ट्विनअटर विमान खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।

संसद्को अन्तर्राष्ट्रिय समितिको सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण राईट टर्न गर्नुपर्ने जहाजले लेफ्ट टर्न गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

घटनाको जाँच–बुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यरतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट आठ नटिकल माइल दुरीमा पर्छ । त्यो विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमवार बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ ।

दुर्घटना छानबिन गर्न पाँच सदस्यीय आयोग गठन
सरकारले आइतबार भएको तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

यो आयोगलाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश रहेको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय