काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेस गरेको आर्थिक सर्वेक्षण, २०७८/०७९ मा गएको फागुनसम्म आन्तरिक ऋण आठ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण नौ खर्ब ८४ अर्ब ९९ करोड गरी संघीय सरकारको सार्वजनिक ऋण दायित्व १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको उल्लेख छ । यस आधारमा हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरको राष्ट्रिय जनगणना, २०७८ को जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० को आधारमा यो तथ्यांक निकालिएको हो ।
०७८ असारसम्म सार्वजनिक ऋण दायित्व १७ खर्ब ३७ अर्ब ६४ करोड थियो । सोही जनसंख्यालाई आधार मान्दा गएको असारमा हरेक नेपालीको भागमा करिब ५९ हजार ४२१ रुपैयाँ सार्वजनिक ऋण रहेको थियो । नौ महिनाको अवधिमा हरेक नेपालीको भागमा तीन हजार ८८९ रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म ८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन भएको सरकारले जनाएको छ ।