
काठमाडौं । डलरको भाउ फेरी नयाँ उचाइमा पुगेको छ। नेपाल राष्ट्र बैंकको अनुसार बुधबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४१ पैसा पुगेको छ। यो हालसम्मकै उच्च दर हो। यसअघि गत बैशाख २७ गते डलरको भाउ हालसम्मकै उच्च १२४ रुपैयाँ २५ पैसा पुगेको थियो। बुधबार उक्त रेकर्डलाई तोड्दै डरलको भाउले नयाँ रेकर्ड कायम गरेको हो।
रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो। रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ४१ पैसा खर्च गर्नुपर्ने भएको छ।
डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र फाइदा हुन्छ। नेपाललाई रेमिट्यान्स र निर्यातमा केहि फइदा भएपनि आयात धेरै रहेकोले आयात हुने वस्तुको भाउ समेत महँगिने देखिन्छ। अहिले महंगी बढ्दै गएको अवस्थामा यसले झनै धेरै दबाव पर्ने भएको छ। नेपालले आयात गर्ने वस्तुहरुको भुक्तानी डलरमा तिर्नुपर्ने हुन्छ। यसले गर्दा नेपालमा निर्यात हुनेभन्दा आयात हुने वस्तु निकै नै धेरै रहेकोले डलरको भाउ बढ्दा आयात गर्ने वस्तुमा समेत बढी शुल्क लाग्ने भएको छ। यसले गर्दा ती वस्तुहरुको भाउ महँगिनेछ। डलर बलियो हुँदा राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ ।