२०८१ मंसिर २२ शनिबार

काठमाडौं । विश्वमा बढ्दै गएको अभौतिक मुद्रा प्रचलनमा ल्याउने सम्भावनालाई विचार गर्दै नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सी ल्याउने सम्बन्धनमा अध्ययन अघि बढाएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर अधिकारीले क्रमशः डिजिटल करेन्सीतर्फ जाने उद्देश्यले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ सम्बन्धी अध्ययन गरिरहेको जानकारी दिएका छन्।

गभर्नर अधिकारीले सम्पत्ति शुद्धिकरण सम्बन्धमा वित्तीय जानकारी एकाइमा आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार गतिविधि प्रतिवेदन प्राप्त भएको उल्लेख गरे। उनका अनुसार ४४६ वटा प्रतिवेदन विश्लेषण भएको २६५ वटा अभिलेखीकरण गरिएको छ। तीमध्ये ११९ वटा प्रतिवेदनहरु ल इन्फोर्समेन्ट एजेन्सीहरुमा अनुसन्धानका लागि पठाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकारीले कोभिडले अर्थव्यवस्थामा पुर्‍याएको असरबारे राष्ट्र बैंकले विभिन्न चरणमा गरेको अध्ययन र त्यसको नतिजाका साथै अर्थतन्त्रको पुनरुत्थानका लागि केन्द्रिय बैंकले चालेको नीतिगत कदमको पनि तारिफ गर्न छुटाएनन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को खोपको उपलब्धताका कारण महामारीको आसर क्रमशः कम हुँदै गएको मुलुकले अनुभव गरेको गभर्नर मह प्रसाद अधिकारिले बताएका छन्। उनका अनुसार कोभिडको असर कम भएलगत्तै आर्थिक गतिविधिमा सुधार आएको छ। उद्योगको क्षमता उपयोग तथा होटलको अकुपेन्सी लगायतमा पनि सुधार आएको छ।

अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८/७९ को सुरूदेखि नै शोधनान्तर स्थिति घाटामा रहेको अधिकारीले बताए। उक्त घाटा क्रमशः बढ्दै गएकोले विदेशी विनिमय सञ्चिति घट्न गएको उनको भनाइ छ।

विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई कम गर्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न समीक्षा अवधिमा विभिन्न नीतिगत प्रयास केन्द्रिय बैंकले गरेको दाबी उनले गरे।

चालु आवमा कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार, पर्यटक आगमनमा भएको बढोत्तरी, आन्तरिक तथा बाह्य व्यापारमा भएको वृद्धिलगायतका कारण आर्थिक पुनरूत्थानले गति लिई आर्थिक वृद्धिमा केही सुधार हुने देखिएको पनि गभर्नर अधिकारीको भनाइ छ।

यस्तै, चालु वर्ष आयात वृद्धिका कारण थोक तथा खुद्रा व्यापार क्षेत्रमा भएको सुधार, आन्तरिक पर्यटन विस्तार र बाह्य पर्यटक आगमनमा आएको सुधार, सडक तथा यातायातको क्षेत्रमा भएको वृद्धिले गर्दा सेवा क्षेत्रको विस्तार हुने देखिएको पनि अधिकारीले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तरको वृद्धि र रसिया–युक्रेनको युद्धका कारण खाद्य तथा गैरखाद्य वस्तुको मूल्यवृद्धि हुन गएकाले नेपालमा पनि मुद्रास्फीतिको चाप भने केही समय कायम रहने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय