काठमाडौं । गत बिहीबारदेखि सञ्चालनमा आएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले जेठ २ गते अर्थात् बुद्धपूर्णिमाका दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ । उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फत यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको हो । त्यसको भोलिपल्ट नेपालबाट यात्रु लिएर कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्यसपछि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य संघ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले बताए । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन् ।
एउटा मात्र रनवेले कारण ट्राफिक हुनेगरेकाले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित छन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने ३ हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले बताए । ‘धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ,’ उनले भने ।