२०८१ माघ ८ मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन् । सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवा भएसँगै आफ्नो पदीय जिम्मेवारी सम्हाल्न बुधबार राष्ट्र बैंक पुगेका गभर्नर अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका हुन् ।

उनले निलम्बन पछिका दिनमा आफ्नो पक्षमा भन्दा पनि समग्र प्रणालीका पक्षमा बोलिदिनेहरु प्रति आभार व्यक्त गरे । सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएकोे भन्दै गभर्नर अधिकारीले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने आशा व्यक्त गरे ।

उनले आगामी दिनमा मैले पेस गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको बताए । गभर्नर अधिकारीले आफू एउटा माध्यम मात्रै भएको बताए ।

राष्ट्र बैंक र अर्थमन्त्रालय एउटा संस्था भएको भन्दै गभर्नर अधिकारीले आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गरेर जिम्मेवारी पूरा गर्ने क्रममा गर्नुपर्ने समन्वय पूरा गर्ने बताए । अर्थमन्त्रालय र राष्ट्र बैंकबीचमा गरिने काममा कुनै किसिमको आग्रह र पूर्वाग्रह राखेर नगर्ने बताए ।

उनले भने, ‘यो बीचको अवधिमा नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकको स्वयत्तता त्यसैगरी देशको अर्थतन्त्रको सन्दर्भमा जे–जति सम्बेदनशील रुपमा समग्र सञ्चार माध्यम, सोसाइटी, सामाजिक सञ्जाल, अधिकांश राजनीतिक नेतृत्वहरुबाट जुन किसिमको सम्बेदनशीलता महशुस गरेर कन्सनहरु सरोकारहरु जनाइएको छ । सबैको लागि देशकै लागि एउटा महत्वपूर्ण विषय छ ।’

उनले थप भने, ‘अर्थतन्त्र र केन्द्रीय बैंकको सन्दर्भमा यो सम्बेदनशीलता सबैले बुझि दिनुभएको छ । यसै सिलसिलामा यो बीचमा घटेको घटनाक्रमको लागि मैले सम्मानित सर्वोच्च अदालत समक्ष रिट निवेदन पेस गरेको थिए । त्यस सिलसिलामा हिजो मात्र सम्मानित अदालतबाट अन्तरकालीन अन्तरिम आदेश प्राप्त भएको छ । आदेश अनुसार मलाई आफ्नो पदीय जिम्मेवारी केन्दिय बैंकको गभर्नरको रुपमा काम निरन्तर राख्ने आदेश भएको हुँदा म आज यहाँ हाजिर भएको छु ।’

उनले फेरि भने, ‘मेरो सम्मानित सर्वोच्च अदालत समक्ष पेस भएको निवेदन विचाराधीन छन् । अन्तिम आदेश हुन बाँकी नै छ । त्यसले गर्दा धेरै कुराहरु यहाँहरु सामु राख्न चाहान्न ।

जे जस्तो सबैबाट रेसपोन्स आयो त्यसबाट म समाजका प्रत्येक तप्का प्रति आभार प्रकट गर्न चाहान्छु र भोलिको दिनमा मैले पेस गरेको निवेदन माथि थप सुनुवाई र कारबाही हुँदै जाँदा नेपाल राष्ट्र बैंकको स्वयत्तता, मौद्रिक नीति, मौद्रिक स्थायीत्व, आर्थिक स्थायीत्वको सम्बन्धमा यसरी नै सकारात्मक सन्देशहरु आउने आशा राखेको छु । सबैको सकारात्मक भाव सदभाव सहानुभूति सबैको लागि व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद भन्न चाहान्छु । म एउटा माध्यम मात्रै हुँ ।’

गत चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै निलम्बनमा परेका थिए । गभर्नर अधिकारीले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका दिएका थिए ।

गभर्नर अधिकारीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त निवेदनमाथि बैशाख १३ गते अन्तरिम आदेशका लागि सुनुवाइ गर्न पेसी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय