काठमाडाैं | मुलुकमा खाद्यान्नको परनिर्भरता बर्सेनि बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातमा परनिर्भरता बढ्दै गएको हो ।व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा मुलुकमा दुई खर्ब ५१ अर्ब १२ करोड रुपैयाँको खाद्यान्न (चामल, मकै र गहुँ) आयात भएको हो ।
पाँच वर्षको अवधिमा सबैभन्दा धेरै एक खर्ब ५० अर्ब ९७ करोड रुपैयाँको चामल आयात भएको हो । यस्तै, सो अवधिमा ६६ अर्ब २५ करोड रुपैयाँको मकै र ३३ अर्ब ९० करोड रुपैयाँको गहुँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । विभागका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले वैदेशिक रोजगारीले कृषिमा जनशक्ति अभाव, खेतीयोग्य जमिन घडेरीमा प्रयोग हुनु र उपभोग्य वस्तुको खपत बढ्दै जाँदा आयातमा वृद्धि भएको बताए।
केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ५० अर्ब ७९ करोड रुपैयाँबराबरको १३ लाख ३४ हजार तीन सय ३१ मेट्रिक टन चामल आयात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ३३ अर्ब ६५ करोड रुपैयाँको सात लाख ८८ हजार चार सय ९२ मेट्रिक टन चामल आयात भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा ३२ अर्ब ६० करोड रुपैयाँको सात लाख ६९ हजार पाँच सय ६८ मेट्रिक टन आयात भएको तथ्याङ्कमा उल्लेख छ ।
केन्द्रका अनुसार आव ०७४/७५ मा २९ अर्ब ४१ लाख रुपैयाँको सात लाख ३९ हजार २०८ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७३/७४ मा २३ अर्ब ८७ करोड रुपैयाँको पाँच लाख ९० हजार १५ मेट्रिक टन आयात भएको थियो ।
यस्तै, आर्थिक वर्ष ०७७/७८ मा १६ अर्ब रुपैयाँको पाँच लाख ९० हजार ९४२ मेट्रिक टन मकै आयात भएकोमा आर्थिक वर्ष ०७६/७७ मा १४ अर्ब ७५ करोड रुपैयाँको चार लाख ४८ हजार ४४३ मेट्रिक टन आयात भएको छ । आर्थिक वर्ष ०७५/७६ मा १२ अर्ब ९५ करोड रुपैयाँको चार लाख २० हजार सात सय ५३ मेट्रिक टन आयात भएकोमा आर्थिक वर्ष ०७४/७५ मा ११ अर्ब ९१ करोड रुपैयाँको चार लाख २० हजार ७५३ मेट्रिक टन आयात भएको छ ।















