
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पुँजी वृद्धि गर्न, बीमकको जोखिम धारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्णय भएको उल्लेख गर्दै बीमा कम्पनीहरुले मर्जरमा गएर भएपनि तोकिएको समयभित्र चुक्ता पुँजी बढाउनुपर्ने बताएका छन्।
नयाँ वर्षमा बीमा समितिमा आयोजित शुभकामना कार्यक्रममा सिलवालले समितिको निर्देशनबमोजिम कम्पनीहरुले स्वः स्फूर्तरूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताए। कार्यक्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू समेतको उपस्थिति थियो।
‘बीमा कम्पनीहरूसँग ३० दिनभित्र पुँजी वृद्धिको योजना मागेका छौं। समितिले पुँजी वृद्धि गर्नुपर्छ। एक्लै पुँजी बढाउन नसके मर्जरमा जानुपर्छ।यसमा आवश्यक सहजीकरण एवम् सहयोग गर्न समिति तयार छ,’ सिलवालले भने, ‘कम्पनीले पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउनसक्छ।’
बीमा व्यवसायलाई स्थापित रूपमा अगाडि बढाउनका लागि राष्ट्रिय बीमा नीति ल्याउन समितिले पहल गरिरहेको पनि जनाएको छ। उक्त नीति आएपछि प्रदेश र स्थानीय तहमा पनि बीमा नीति बन्ने र दीर्घकालीन योजनाका साथ बीमा व्यवसाय सफलतापूर्वक अगाडि बढ्ने विश्वास रहेको सिलवालले बताए।