काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चारवटा सहयोग सम्झौता भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच एकल र प्रतिनिधिमण्डल स्तरीय भेटवार्तापछि समझदारी-पत्रमा दुवैतर्फका सरकारी अधिकारीले हस्ताक्षर गरेका हुन ।
इन्टरनेशनल सोलार एलाइन्समा नेपालको प्रवेश सम्बन्धि समझदारी, भारतीय आयल निगम र नेपाल आयल निगमबीच पेट्रोलियम पदार्थ आपूर्ति सम्झौता, भारतीय आयल निगम र नेपाल आयल निगमबीच प्राबिधिक सहयोगसम्बन्धि अर्को सम्झौता र सीमापार रेल प्राविधिक सहयोगसम्बन्धि समझदारी पत्रमा नेपाल र भारतबीच हस्ताक्षर भएको हो।
सीमापार रेलसम्बन्धी प्राविधिक सहयोग समझदारी अनुसार रेल सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा भारत सरकारले सघाउनेछ। नेपालका विश्वविद्यालयको पाठ्यक्रममा रेल्वे विषय समावेश गरी अध्यापन गराउन भारतले सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ।
त्यस्तै, रेलसेवामा काम गर्ने इन्जिनियरलाई तालिम दिने र भारतले रेल विषय अध्ययन गर्न चाहनेलाई छात्रवृत्ति उपलब्ध गराउने विषय पनि समझदारीमा समेटिएको छ।