२०८१ मंसिर २३ आईतवार

अहिले समग्र विश्व नै कोरोना भाइरसका कारण लाग्ने कोभिड–१९ रोगले आक्रान्त छ । महामारीका वाबजुद पनि यतिखेर आफ्ना व्यापार/उद्यम सञ्चालन गर्नुपर्ने बाध्यात्मक स्थितिमा व्यावसायिक संस्थाहरू छन् । तिनले जनसम्पर्क विना नै व्यवसाय सञ्चालन गर्ने विभिन्न उपायहरू पहिल्याएका छन् । पछिल्ला दिनमा संक्रमण दर गहिरिँदै गएको सन्दर्भमा नेपालमा पनि बैंक तथा वित्तीय संस्थाले विभिन्न वैकल्पिक माध्यमबाट बैंकिङ सेवाहरू प्रदान गरिरहेका छन् । तथापि, ती संस्थामा सेवाग्राहीको भीडभाड अपेक्षित मात्रामा घटेको देखिँदैन । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरू कोभिड संक्रमणको केन्द्र बन्ने हो कि ! भन्ने जोखिम देखिएको छ ।
सञ्चार माध्यमहरूमा उपलब्ध सूचनाअनुसार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाका थुप्रै कर्मचारीहरूमा कारोना संक्रमण भइसकेको अवस्था छ । महामारीको जोखिम न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाले ग्राहकको भीडभाड कम हुने खालका नयाँयाँ प्रविधिजन्य सेवा सञ्चालनमा ल्याउनु उचित हुन्छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूले नगद कारोबार कम गर्ने र ग्राहकलाई सकेसम्म शाखामा आउनु नपर्ने गरी बैंकिङ सेवा विस्तार गर्नुपर्छ ।
बैंक तथा वित्तीय संस्थाले दिने सहायक सेवाहरू (एलसी, बैंक ग्यारेण्टी आदि) का लागि बैंकका भीड धेरै नहुने भए पनि मुख्यतः चेक क्लियरिङ र चेक जम्मा वा सटहीको निम्ति उल्लेख्य संख्यामा ग्राहकको उपस्थिति हुने गरेको देखिन्छ । यस्तो अवस्थामा बैंकले क्लियरिङको चेक र चेक डिपोजिट गर्ने कार्य इन्टरनेट वा मोबाइल बैंकिङ एपमार्फत गराउनका निम्ति प्रोत्साहन गरेमा धेरै हदसम्म ग्राहकको भीड व्यवस्थापन गर्न सकिन्छ । यसै गरी चेकको भुक्तानी समेत मोबाइल एप वा इन्टरनेट बैंकिङमार्फत चेकको छविचित्र प्राप्त गरी खातामा भुक्तानी गरिदिने र नगदका लागि एटीएम प्रयोगलाई प्रोत्साहित गर्न सकिन्छ ।

साना बचतकर्ताको रुपमा मुलुकका दुरदराज देखि सहरी क्षेत्रमा समेत रहेको लघुवित्तका ग्राहकलाई डिजिटाइजेसनमा जोड्ने हो भने नगदरहित कारोबारमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ । लघुवित्तका ऋणी तथा बचतकर्ताहरू सानो स्तरमा हुने र यत्रतत्र हुने हुँदा उनीहरूलाई सुहाउँदो भुक्तानी प्रणाली विकास गर्न सकेको खण्डमा हाललाई यस क्षेत्रमा कोभिडको महामारीको असर न्यूनिकरण गर्न सकिन्छ भने भविष्यमा लघुवित्त नै मुलुकभर नगदरहित कारोवारको सम्वाहक बन्न सक्छन् । डिजिटल पेमेण्टलाई तरकारी पसलदेखि सामान्य किराना पसलसम्म विस्तार गर्न सकिएको खण्डमा पैसाबाट कोभिड हुन सक्ने जोखिममा समेत न्यूनीकरण हुन्छ ।

यसका लागि भुक्तानी गर्नुपर्ने चेकको फोटो खिचेर बैंकमा प्राप्त हुने र त्यसैमार्फत कारोबार गर्न सकिने व्यवस्था गर्नु उपयुक्त हुन्छ । यस्ता सेवा प्रवाहका निम्ति बैंकहरूले प्रारम्भमा केही लगानी गर्नुपर्ने हुन सक्छ । तर कर्मचारीमा कोभिड संक्रमण भए नभएको परीक्षणका लागि गरिने खर्च, आइसोलेसन र उपचार व्यवस्थापन गर्नुपर्दाको खर्च एवम् कर्मचारी क्वारेन्टिन वा सेल्फ आइसोलेसनमा बस्दा लाग्ने खर्च र गुमेको उत्पादकत्वको तुलनामा यो खर्च निकै कम नै हुन जान्छ । त्यसैगरी अहिलेको लगानीले कोभिडपछिको अवस्थामा पनि सञ्चालनमा सहयोग पुग्ने नै देखिन्छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालमा कुल १ करोड १३ लाखभन्दा बढी मोबाइल बैंकिङका ग्राहकहरू छन् । यीमध्ये आधा मात्रै पनि सक्रिय भएको अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको लागि यो एउटा ठूलो अवसर हुनेछ । किनभने सक्रिय ग्राहकहरू नै बैंकमा आउने हुन् । हाल विभिन्न भुक्तानीका लागि मोबाइल वालेट तथा क्यूआर कोड भुक्तानी प्रचलनमा आइसकेको अवस्थामा यस्तो भुक्तानीलाई साना ठूला सबै पसलमा सर्वसुलभ तवरले पु¥याउनु बैंक तथा वित्तीय संस्थाको लागि अर्काे अवसर हुन सक्छ भने मोबाइल बैंकिङ वा भनौँ एप बैंकिङ माध्यम । छविचित्रमार्फत हुने भुक्तानीमा सुरक्षाको प्रश्न उठ्न सक्छ । तर प्रविधिको उच्चतम प्रयोग गर्ने हो भने यसको सहज समाधान निस्कन्छ ।
यसै पनि हाल बैंक तथा वित्तीय संस्थाले चेक क्लियरिङमा छविचित्रकै प्रयोग गर्ने गरेकाछन् । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले कारोबारको हिसाबले ठूलो हिस्सा ओगटे पनि ग्राहकको संख्याका हिसाबले ठूलो संख्या ओगटेका लघुवित्त संस्थामा डिजिटाइजेसनले हालसम्म प्रवेश पाएको देखिँदैन । राष्ट्र बैंकको तथ्याङ्क अनुसार लघुवित्त संस्थामा सदस्यहरूको संख्या ४६ लाख ८७ हजार छ भने ऋणीहरूको संख्या २६ लाख ८३ हजार छ । लघुवित्त संस्थाका सदस्य तथा ऋणीहरू लगभग सम्पूर्ण सदस्यहरू नै सक्रिय रहेका हुन्छन् । उनीहरू नियमित बैठक गर्ने बचत गर्ने वा ऋण झिक्ने गर्छन् ।
हाल लघुवित्तका सदस्यहरूले बचत झिक्न लघुवित्तको शाखा कार्यालय धाउनुपर्ने वा केन्द्र बैठक कुर्नुपर्ने बाध्यता छ । यसैगरी कर्मचारीहरू पनि सदस्यको निकट रही मासिक बैठक सञ्चालन गर्नुपर्ने बाध्यतामा छन् । यस्तोमा कोभिड सर्ने जोखिम उच्च देखिएको छ । आजकाल घरघरमा मोबाइल इन्टरनेटको व्यापक प्रयोग भइरहेको अवस्थामा लघुवित्त संस्थाले भचुर्अल माध्यमबाट पनि केन्द्र बैठक गर्न सक्छन् । फेसबुक म्यासेन्जर, भाइबर घरेलु नाम भइसकेको अवस्थामा तिनै एपमा समूह खडा गरी भर्चुअल बैठक गर्न सकिन्छ र डिजिटल माध्यमबाट तुरुन्तै सदस्यबाट बचत संकलन र ऋण प्रवाह गर्न सकिन्छ । विभिन्न खालको अवरोध भोगिरहेको हालको विषम परिस्थतिमा भर्चुअल केन्द्र बैठकहरू लघुवित्त संस्थाको खराब कर्जा व्यवस्थापन गर्ने विकल्प बन्न सक्छन् ।
नेपालमा एकाध लघुवित्त वित्तीय संस्थाले कोभिडको माहामारी पश्चात् ऋणीहरूको किस्ता मोबाइल वालेटमार्फत भुक्तानी गर्न मिल्ने बनाएका छन् तर ती वालेटमा आफूसँग रहेको बचतबाट टपअप गर्न मिल्ने बनाएको पाइएको छैन । साना बचतकर्ताको रुपमा मुलुकका दुरदराज देखि सहरी क्षेत्रमा समेत रहेको लघुवित्तका ग्राहकलाई डिजिटाइजेसनमा जोड्ने हो भने नगदरहित कारोबारमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ । लघुवित्तका ऋणी तथा बचतकर्ताहरू सानो स्तरमा हुने र यत्रतत्र हुने हुँदा उनीहरूलाई सुहाउँदो भुक्तानी प्रणाली विकास गर्न सकेको खण्डमा हाललाई यस क्षेत्रमा कोभिडको महामारीको असर न्यूनिकरण गर्न सकिन्छ भने भविष्यमा लघुवित्त नै मुलुकभर नगदरहित कारोवारको सम्वाहक बन्न सक्छन् । डिजिटल पेमेण्टलाई तरकारी पसलदेखि सामान्य किराना पसलसम्म विस्तार गर्न सकिएको खण्डमा पैसाबाट कोभिड हुन सक्ने जोखिममा समेत न्यूनीकरण हुन्छ ।
कोभिड महामारीका कारण संसार नै आक्रान्त भइरहेको यस विषम परिस्थितिले बैक तथा वित्तीय संस्थालाई संरचनात्मक परिवर्तन गर्ने अवसर पनि दिएको छ । यस अवसरको सदुपयोगका लागि बैंक तथा वित्तीय संस्थाहरू तयार हुने र नेपाल राष्ट्र बैंकको आवश्यक नियामकीय एवम् नीतिगत सहजीकरण गरीदिनुपर्ने अवस्था आएको छ । राष्ट्र बैंकले भूक्तानी पूर्वाधार विकासमा र बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाहमा जोड दिने हो भने बैंक तथा वित्तीय क्षेत्रमा कोभिड–१९ महामारीले पारेको र पार्न सक्ने असरलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
(लेखक नेपाल राष्ट्र बैंकका उप–निर्देशक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय