
काठमाडौं । अहिले बैंकहरुको सीडी रेसियो ९४ प्रतिशतसम्म पुगेको छ। औसत सीडी रेसियो पनि ९२ प्रतिशत हाराहारी छ। असार मसान्तसम्म बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभित्र ल्याइसक्नु पर्छ। बैंकहरुलाई भएको ऋण नघटाइ कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल राख्नु पर्ने दबाब छ । यस्तो अवस्थामा बैंक र निर्जीवन बीमा कम्पनीलाई यतिबेला व्यवसाय बढाउनेभन्दा पनि कसरी जोगाउने भन्ने तनाव भएको छ। बीमा कम्पनीहरुलाई गरिरहेको व्यापारलाई थेग्नु छ।
सीडी रेसियो तल झार्नका लागि बैंकहरुले कि त निक्षेप बढाउनु पर्ने नभए ऋण घटाउनु पर्छ। निक्षेप बढ्ने होइन उल्टो घट्ने अवस्था छ। किनभने सरकारले स्थानीय तहमा दिएको बजेटलाई असारसम्म मात्र निक्षेपमा गणना गर्न सकिने सुविधा दिएको छ। कुल विनियोजित रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाइन्छ।
अर्कोतिर राष्ट्र बैंकले पुनर्कर्जाको रकम घटाउने भनेको छ। निक्षेप बढ्ने अर्को उपाय भनेको सरकारी खर्च हो। पेट्रोलियमदेखि डण्डी, बिटुमिनसम्मको मूल्य विदेशमा बढेका कारण निर्माण व्यवसायीले काम गर्न नसकिने बताइसकेका छन्। त्यसैले पोहोरजति पनि यसपाली विकास खर्च नहुने देखिएको छ।
रेमिटेन्स आय पोहोरको तुलनामा घटिरहेको छ। विदेशी मुद्राको अर्को स्रोत ऋण तथा अनुदानका साथै प्रत्यक्ष वैदेशिक लगानी कम भइरहेको छ। त्यसैले बैंकहरुमा नयाँ निक्षेप आउने संभावना क्षीण हुँदै गएको छ। यही भएर बैंकहरुले सीडी रेसियो ९० प्रतिशतमा ल्याउन ऋण घटाउनु पर्ने अवस्था छ। ऋण घटाउन क्रम पनि सुरु भइसकेको छ। यसले गर्दा बीमा बजार खुम्चिन थालेको छ।
अहिले बीमाले बैंकलाई निक्षेप दिने र बैंकले त्यो पैसा ऋण दिएर त्यसको बीमा निक्षेप गर्ने कम्पनीमा गराउने रणनीति लिन थालेका छन् । तर यसले पुरानो व्यापारलाई धान्न गाह्रो हुन्छ। जीवन बीमा कम्पनीहरुले भने बैंकहरुसँग धम्क्याएर नै बढी ब्याज लिन थालेका छन्। राष्ट्र बैंकको नियम अनुसार, नवीकरण भएको निक्षेपमा मात्र निर्धारितभन्दा ०.१० प्रतिशत बिन्दु बढी ब्याज दिन पाइन्छ। ‘तर, बीमा कम्पनीले नभए दिन्न भन्दिएपछि राष्ट्र बैंकको आँखा छलेर भए पनि नयाँलाई पनि नवीकरण सरह ब्याज दिएर निक्षेप उठाउनु परिरहेको छ,’ एक बैंकरले भने।
अहिले साधारण व्यक्तिगत निक्षेपकर्ताको ब्याज दर ११.०३ प्रतिशत छ। संस्थागत निक्षेपकर्ताले योभन्दा एक प्रतिशत बिन्दु कम ब्याज पाउँछन् अर्थात १०.०३ प्रतिशत। नवीकरण गर्नु परे ०.१० प्रतिशत बिन्दु बढी अर्थात १०.१३ प्रतिशत ब्याज पाउँछन्। अहिले बीमा कम्पनीहरुको नयाँ निक्षेपलाई पनि बैंकहरुले नवीकरण सरह १०.१३ प्रतिशत ब्याज दिएका हुन्।
बैंकरले यो निक्षेप पनि ब्यापार दिने सर्तमा मात्र पाउँछन्। यदि व्यापार दिन नसके बैंकले निक्षेप पाउँदैनन्। ‘आफ्नो व्यापार थेग्नका लागि सर्तहरु राख्नु स्वाभाविक नै हो नि,’ ती बीमकले भने, ‘निक्षेप दिने व्यापार नआउने भयो भने त हामीलाई फाइदा भएन।’ उनका अनुसार, यसपाली निर्जीवन बीमा कम्पनीको व्यापारमा खास ठूलो सुधार हुँदैन।