
काठमाडौं । चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले नेपालसँगको उत्तरी व्यापारी नाका सञ्चालन सहज बनाउने आश्वासन दिएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललेका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको बार्तामा क्युपिङले यस्तो आश्वासन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
‘कोभिड–१९ का कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएको तर हाल चीनमा समेत प्रकोप कम हुँदै गएकाले छिट्टै सीमा नाकाबाट सहज आयात र निर्यात हुन्छ,’ क्युपिङलाई उद्दृत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
नेपालको व्यापार प्रवर्द्धन, व्यापारीक पूर्वाधार विकासमा चीन सहमत रहेको भन्दै क्युपिङले दुई देशबीचको व्यापार असहजताका समस्याहरु दुई देशबीचको संयुक्त कार्य समितिको बैठकमा छलफल गर्न उपयुक्त हुने धारणा राखेको थिए ।
११ अर्ब ४० करोड चिनियाँ सहयोग
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका परियोजना कार्यान्वयन गर्न खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । उक्त रकम सन् २०२० का लागि प्रदान गरिएको हो ।
यसैबीच नेपालको भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले आफ्ना राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला घोषणा भएको विकास सहायता रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार राजधानीमा सम्पन्न नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्तामा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । साथै उहाँले रसुवागढी–तातोपानी सीमानाका वस्तु तथा सेवाको दुईतर्फी आवागमन पूर्णरूपमा सञ्चालन गर्न सहमति जनाउनुभएको छ ।
वार्ताका क्रममा दुवै देशका परराष्ट्र मन्त्रीले सम्वद्ध निकायलाई सीमानाका शीघ्र सञ्चालन गर्न आवश्यक तयारीका निम्ति निर्देशन दिइसक्नुभएको छ । चिनियाँ विदेशमन्त्रीले नेपाली विद्यार्थीलाई चाँडोभन्दा चाँडो चीन फर्काउने आश्वासन पनि दिनुभएको थियो ।