
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्ति प्रभावित भएसँगै उद्योग बन्द हुने क्रम सुरु भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश–१ ले तीनदिन भारतबाट आयातीत विद्युत् आपूर्ति अप्रत्यासित रूपमा बन्द भएको जनाई प्राधिकरणले उद्योगमा विद्युत् आपूर्ति ठप्प पार्दा उद्योग कलकारखाना बन्द गर्नुपरेको जनाएका छन् ।
विगत लामो समयदेखि तरलताको चरम अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो व्याजदरले प्रभावित भइरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचनाविनै अचानक विद्युत् अवरुद्ध हुँदा थप प्रताडित भएको तीनवटै संस्थाद्वारा संयुक्तरूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समयमा प्रायः दैनिकजसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीबाट नेपालमा प्रसस्त विद्युत् उत्पादन भइरहेको र उद्योग व्यवसायको मागबमोजिम विद्युत् आपूर्ति हुन्छ भन्ने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिरहेकाले सोही अनुसार निजी क्षेत्रले पछिल्लो दिनमा औद्योगिक गतिविधि एवं लगानी बढाउँदै लगेको ती संस्थाहरूको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छहिजोसम्म मागे जति विद्युत् दिन्छौ, हामी विद्युत् निर्यात गर्ने अवस्था पुग्यौ भन्ने तर आज भारतबाट एकदिन विद्युत् आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो ऊर्जाको वास्तविक क्षमता उजागर गरेको छ ।
यसतर्फ सबै सम्बद्ध पक्ष जिम्मेवार भई तत्कालको ऊर्जा संकट समाधान गर्दैै ऊर्जामा आत्मनिर्भर हुनेगरी उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकार तथा जिम्मेवार निकायलाई हार्दिक अपिल गर्दछौं भनिएको छ ।
विश्वव्यापी रूपमा बढिरहेको मूल्यवृद्धि तथा भारतमै चरम ऊर्जा संकट भई अप्रत्यासित मूल्यवृद्धि हुँदा नेपालले खरिद गरिरहेको मूल्यमा बिड नपर्दा क्षणिक संकट भएको तर प्राधिकरणले जुनसुकै मूल्यमा पनि खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाएकाले निजी क्षेत्रको मनोबल उँचो बनाएको बताइएको छ । संकटपूर्ण अवस्थामा प्राधिकरणबाट निजी क्षेत्रलाई ढाडस दिने काम भएको भन्दै ती संस्थाहरूले प्राधिकरणलाई धन्यवादसमेत दिएका छन् ।
साथै वर्तमान चुनौतीपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धित निकायले जिम्मेवारी एवं जवाफदेहीता बहन गर्दै विद्युत् आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै तत्कालको ऊर्जा संकटलाई अविलम्ब समाधान गरी उद्योगमा निरन्तर विद्युत् आपूर्ति व्यवस्थाका लागि आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा उद्योग संगठन मोरका अध्यक्ष सुयस प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ प्रदेश-१ रहेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल लोडसेडिङ नहुने र उद्योगमा पनि भारतबाट महँगो खरिद गरेर सस्तोमा विद्युत् आपूर्ति गरिने बताउनुभएको छ ।