२०८१ मंसिर २४ सोमबार

काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि मालबाहक कन्टेनर भित्रिने प्रक्रिया टुंगो लागेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै चोभार सुक्खा बन्दरगाहमा भित्रिने कन्टेनरको प्रक्रिया टुंगिएको हो । उक्त सुक्खा बन्दरगाहबाट सुविधा लिन चाहने पैठारीकर्ताले अनुमतिका लागि मालवस्तु प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा निवेदन दिनुपर्नेछ ।

नेपाल भन्सार स्वचालन प्रणाली ट्रान्जिट मोड्युल प्रयोग गरी आवश्यक विवरण घोषणा गरिएको फारम प्रणालीबाटै निवेदन दिन सकिन्छ । एलसी खोलेर आयात गरिएका र घोषणाबमोजिमका मालवस्तु आयात भएका कन्टेनरले मात्र यस्तो अनुमति पाउनेछन् ।

अनुमति पाएका कन्टेनरमा सीमा नाकाबाट यता जिपिएस लक लागेको हुनुपर्नेछ । त्यसरी जिपिएस लकबाट भन्सार कार्यालयले उक्त कन्टेनरको अवस्थाबारेमा नियमित जानकारी लिनेछ । चोभारमा जाँचपासको अनुमति लिएर आएका कन्टेनरलाई बीचमा कसैले पनि खोल्न वा हेर्न पाउने छैन । तोकिएका भन्सार अधिकृतबाहेक अरूले हेर्न पाउने छैनन् ।

त्यस्तो कन्टेनरलाई ७२ घण्टासम्म कुनै शुल्क लाग्ने छैन भने तोकिएको समयभन्दा बढी बन्दरगाहमा बसेमा शुल्क लाग्नेछ । वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुहरूमात्र चोभार भित्रिन पाउनेछन् ।

उक्त पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रिने भए आवश्यकताका आधारमा भन्सार विभागका महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यालय तोक्न सक्ने बताइएको छ । एक खर्ब ६० करोड लागतमा निर्माण भएको बन्दरगाह दुई सय ६१ रोपनीमा फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय