पछिल्लो समयमा बीमा बारम्बार सुनिने शब्द हो । बीमा जोखिम हस्तान्तरणको एक माध्यम हो । यो मानव जीवनमा उत्पन्न हुने वित्तीय जोखिमसँग सम्झौंता गरिएको हुन्छ । जोखिमहरु मनिसको जीवनमा दुई प्रकारले जोडिएको हुन्छ । व्यक्तिको जीवन सँग सम्बन्धित र भौंतिक सम्पत्तिसँग सम्बन्धित दुवै जोखिममा हामी जीवन बिताइरहेका हुन्छौंं । यद्यपि हामी आफ्नो जीवनको यस्ता जोखिमहरुलाई रोक्न सक्दैनौंं । हामीले हानी नोक्सानी कम गर्न विभिन्न तरिकाहरु अपनाएका हुन्छौं । यी मध्ये जोखिम स्थानान्तरणको सबैभन्दा महत्वपूर्ण र आधुनिक विधि बीमा हो । भन्नु को अर्थ तपाईं हामीसँग रहेको जीवन वा सम्पति जसलाई जोखिम बीमा कम्पनीलाई जिम्मा लगाउनु जस्तै हो ।
नेपालमा जीवन बीमाको इतिहास त्यति लामो छैन । संस्थागत विकास राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा व्यवसायको स्थापनासँग शुरु भयो । यस संस्थाको एकाधिकार लगभग डेढ दशकसम्म जारी रह्यो । त्यसपछि देशले खुला र उदार अर्थव्यवस्था अपनाएपछि नेपालको बीमा उद्योगमा प्रतिस्पर्धी बीमा कम्पनीहरुको संख्या नाटकीय रुपमा बढेको छ । हाल नेपालमा ४० वटा बीमा कम्पनीहरु कार्यरत छन् । १९ वटा जीवन बीमा, २० वटा निर्जीवज बीमा कम्पनी र २ वटा पुनर्बिमा कम्पनी । तथापि नेपालमा बीमा गर्नेहरुको संख्याका अनुसार बजार विस्तार भएको छैन ।
जीवन बीमा जोखिम हस्तान्तरण र बचत गर्ने एक उत्तम तरिका हो । यसले हाम्रो जीवनमा घटनाहरुद्वारा सिर्जना गरिएको वित्तीय जोखिम कम गर्दछ । जीवन बीमा व्यवसाय भन्नाले कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्तावन्दी बुझाउनेगरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउनेगरी गरिने करार सम्बन्धी व्यवसाय सम्झनु पर्छ ।
नेपालमा जीवन बीमाको प्रयास लामो समय देखि भएको छ , तर यसले आम जनतामा बुझाइ र सकारात्मक प्रभाव पनि निकै लामो समय लाग्ने प्रस्ट देख्न सकिन्छ । पहिलो समयमा नेपाली जनताले भोगीरहेको प्राकृतिक प्रकोपहरु जस्तै २०७२ सालको भुकम्प, बाढी पहिरो, दिनानुदिन हुने सडक दुर्घटना, अहिले कोरोना महामारी प्रकोपजस्ता विद्यमान परिघटनाले पक्कै पनि जीवनको महत्व बुझिसकेका छन् । यसको बारेमा जागरुक्ता बढ्दै गइरहेको र मानिसहरु आकर्षित भएको उदाहरण कोरोना बीमा प्रतिको चासोले प्रस्ट हुन्छ । यी र यस्ता विद्यमान समस्याहरुको बावजुद पनि बीमा क्षेत्रको विस्तार पक्कै पनि दीर्घकालीन हुनेछ । जसले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ ।
महत्व
बीमा एक आवश्यकता हो । यसर्थ यसको महत्व बुझाउन र बजार विस्तारको लागी बीमा कम्पनीहरुले अभिकर्ता नियुक्ति गरेको हुन्छ । साथै विभिन्न संचारका माध्यमहरुबाट सार्वजनिकरुपमा बीमा जागरण अभियान संचालन गरेको हुन्छ । बीमा अभिकर्ताहरु हरेक वर्ष बढ्दछन् र यिनीहरु भनेका बीमा जागरुकता फैलाउने सबैभन्दा बलियो माध्यम हुन् । हरेक कम्पनीसँग हजारौं बीमा अभिकर्ताहरु हुन्छन् । यिनीहरुको संगठित प्रयासहरुले जीवन बीमाको बारेमा सचेतना जगाउन पनि धेरै मद्दत गरिरहेको हुन्छ । केही आधारभूत आवश्यकता र महत्व यस प्रकार छन् ।
उत्तम बचत
जीवन बीमा सबैभन्दा राम्रो बचतको रुपमा मान्न सकिन्छ । तर त्यस्तो बचतहरु कुनै पनि समयमा फिर्ता लिन सकिँदैन । बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा अनावश्यक खर्च हुन सक्छ किनकी पैसा कुनै पनि समयमा फिर्ता लिन सकिन्छ । तर जीवन बीमामा संकलन गरिएको बचत तुरुन्त घटाउन सकिँदैन । यसलाइ सर्वोतम बचत भनिन्छ । जीवन बीमामा बीमा गरिएको व्यक्तिले बारम्बार थोरै पैसा तिर्दछ तर बीमा परिपक्क भए पछि धेरै पैसा संकलन सँगै बोनस रकम प्राप्त गर्दछ । थप रुपमा बीमा अवधि भित्र बीमितको मृत्यु, अंगभंग, दुर्घटना, घातक रोगहरु लागेमा बीमित वा इच्छाइएको व्यक्तिले बीमाङ्क र बोनस प्राप्त गर्दछ ।
वित्तीय सुरक्षा
जीवन बीमा छलफल हुने वित्तिकै वित्तीय सुरक्षाको सवाल पनि छ । बीमा एक उपकरण हो जुन बीमा गरिएको व्यक्ति वा परिवारको वित्तीय सुरक्षाको लागी कवजको रुपमा काम गर्दछ । बीमाले वित्तीय जोखिम बहन गरेको हुन्छ । अर्थात बीमा गरिएको व्यक्तिको मृत्यु भएमा वा दुर्घटनाबाट स्थायी रुपमा आय आर्जन गर्न नसक्ने भएमा बीमाङ्क रकम भुक्तानी गर्दछ । यसरी हेर्दा बीमाको रकमले उसको परिवारले जीविका चलाउन सक्छ ।
कर छुट
नेपालको आयकर ऐन अनुसार रु. २५,००० सम्म आयमा कर छुट हुन्छ । कर छुटको लाभ बीमा गर्ने बीमितले मात्र पाउँछ ।
आत्मनिर्भरता
यदि बीमा गरिएको जीवन कुनै पनि कारणले मृत्यु वरण गर्दछ वा भवितव्य पर्दछ भने बीमा गरिएको परिवार आफनो जिविकाको लागी अर्को व्यक्तिमा निर्भर हुनु पदैन ।
मानसिक शान्ति
मानिसहरुलाई उनीहरुको जीवनमा हुने अनिश्चिताले सताउँछ । उनको मृत्यु पछि अशक्त, रोगव्याधिको चिन्ता, बच्चाहरुको शिक्षा, बुढ्यौंलीको लागी जस्ता विभिन्न कारणहरुका लागि डराउँछन् । बीमाले त्यस्ता समस्याहरु सामाधान गर्न भूमिका खेल्ने भएकाले यसले मानसिक शान्ति प्रदान गर्दछ ।
चुनौतीहरु
विस्तारै अगाडी बढ्दै गएको जीवन बीमा व्यवसायका धेरै चुनौतीहरु छन् । अभिकर्ताहरुले सर्वसाधारणलाई जीवन बीमाको महत्व बताउँछन् । नेपालको जनसंख्याको ८० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्दछन् । तर प्राय जसो बीमा कम्पनी एजेन्टहरु शहरमा केन्द्रित हुन्छन् । आउँदो दिनमा ग्रामीण क्षेत्रमा बीमाको सचेतना फैलाउनु पर्छ । यदि यो भयो भने जीवन बीमाकर्ताहरुको संख्या जीवन बीमामा विश्वासको साथ बढ्नेछ । बीमा योग्य जनसंख्याको केवल १० प्रतिशत जनताद्वारा प्रदान गरिएको जीवन बीमा हो भन्ने तथ्यको साथ आँकलन गर्ने हो भने कम्पनीहरुको भविष्य उज्जवल देखिन्छ ।
जीवन बीमा कम्पनीमा दाबी भुक्तानी प्रदान गर्नको लागी जीवन बीमा कोष खडा गरिएको हुन्छ । यही कोषको आधारमा भविष्यमा आउने दुर्घटना तथा भवितव्य जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । जीवन बीमा एक जीवित पार्टनरबाट एक मृत मालिकको वा शेयरधारकको व्यवसायको अंश खरिद गर्न कोष प्रदान गर्न सक्दछ । अर्थात कुनै व्यवसायमा एक महत्वपूर्ण व्यक्तिको मृत्युको घटनाले व्यापार नै धरासायी हुन सक्छ । यस अवस्थामा बीमाले व्यावसाय विस्तारमा मद्दत गर्छ । तर विडम्बना बीमा दाबी भुक्तानी पाउने लोभमा आफनै श्रीमतीको हत्या गरे, आफनै वुबाले छोरीको अकालमै ज्यान लिन पुगे । यी र यस्ता घटनाहरु भनेका बीमा अभिकर्ताहरुमा प्रशिक्षण र ज्ञानको अभावमा भएका देखिन्छन् । यो बीमा क्षेत्रको लागि एक ठूलो चुनौती हो । सम्बन्धित बीमा कम्पनी र अभिकर्ताहरु यस्ता दुर्घटना न्यूनीकरणमा सधैं सतर्क हुनु जरुरी छ ।
अर्कोतर्फ दाबी भुक्तानीमा पेश हुने कागजातहरु पनि शंकाको घेराभित्र पर्दछन् । कालगतिले भएको मृत्युलाई दुर्घटना गराउन खोज्ने, हस्पिटलहरुले उपलब्ध गराउने बीलहरु, दुर्घटना सम्बन्धी प्रहरी रिपोर्ट सबैमा दुरुपयोग भएका घटनाहरु हाम्रो लागि नौंलो विषय हैन । विभिन्न ठूला संघ–संस्था, समूह लगानीकर्ता, राजनीतिक दवाब, कम्पनीको बजार विस्तारमा आउनसक्ने आँचजस्ता विषय वस्तुले गलत दावी भुक्तानीलाई प्रसय दिएको पाईन्छ ।
कहिँकतै बीमा कम्पनीलाई भ्रममा पारी र छलकपट गरी गलत दाबी गर्ने व्यक्तिको संख्या वढ्दो छ । सम्बन्धित निकायको प्रभावकारी नियन्त्रणको अभाबका कारण पनि तेस्रो पक्षबाट गलत दाबीहरुको लागि कम्पनी क्षतिपुर्ति दिन बाध्य छ । यस्तो दाबी भुक्तानी गरिएको छैन भने त्यहाँ अनेकौंं गुनासोहरु, नकारात्मक टिकाटिप्पणी, धम्कीहरु आउँछन् । यदि त्यस्ता समस्याहरु र चुनौतीहरु समयमै समाधान भएन भने भविष्यमा ठूलो संकट ल्याउने कुरामा निश्चित छ ।
विश्वव्यापी हेर्ने हो भने वित्तीय क्षेत्रमा बैंक र वित्तीय संस्था भन्दा अगाडी बीमा कम्पनीहरुको प्रभुत्व धेरै हुन्छ, तर नेपालमा त्यस्तो छैन । बीमितलाई दिने कर छुट दायरा हेर्ने हो भने अत्यन्त न्युन छ । बीमाको जागरुकता र सचेतना सरकारी निकायबाट हेर्ने हो भने निजी क्षेत्रलाई कमै प्रोत्साहन गरेको देखिन्छ । बीमासम्बन्धी दक्ष तथा जानकार जनशक्तिको अभाव नियमनकारी निकाय देखि तल्लो तहसम्म रहेको छ । बीमा कलेज, तालिम केन्द्रहरुको अभावमा बीमा अभिकर्ताहरु आफनो क्षमता अभिवृद्धि गर्न केही घण्टाको तालिममा भर पर्नु परेको छ । नैतिक जोखिम पनि जीवन बीमा व्यवसायको एक चुनौंती भएको छ । बीमा गरिएको व्यक्तिको स्वास्थ्य अवस्था, व्यापार, पारिवारिक अवस्था यस बारेमा विशेषगरी बीमा अभिकर्ताहरु चनाखो हुनुपर्ने छ ।
बीमा कम्पनी आफैंले बीमा व्यवसाय ल्याउँदैन । गलत आचरण भएका र बढी जोखिममा रहने बीमित आफैले लुकाउन चाहन्छन् । अभिकर्ताको प्राथमिक जिम्मेवारी भनेको यस्तो आचरण अनुसन्धान गर्नु हो । अभिकर्ता बीमा कम्पनी मातहतमा काम गर्ने भएकाले बीमा गर्न चाहने व्यक्तिको वास्तविक आचरण बीमा कम्पनीलाई प्रस्तुत गर्नुपर्दछ । तसर्थ, यदि बीमा गर्न चाहने व्यक्तिको नैतिक आचरण, अत्याधिक मदिरा तथा लागुपदार्थको सेवन, मानसिक असन्तुलन, गलत प्रवृतिको धन संग्रह आदि भएमा त्यस्ता व्यक्तिसंग जोखिमको सम्भावना सधै उच्च हुन सक्छ । त्यसैले यो बीमालाई प्रोत्साहित नगर्ने प्रमुख नैतिक दायित्व अभिकर्ताहरुको हुन जान्छ ।
अन्त्यमा,
जीवन बीमा अनिवार्य बचत सँगै जोखिम हस्तान्तरणको प्रक्रिया हो । जीवन बीमाको आवश्यकता र महत्व धेरै भएकोले अनेक चुनौंतीहरुको सामना गर्दै बीमा कम्पनीहरुले आफ्नो व्यापार विस्तारका लागि निरन्तर प्रयास गरिरहेका छन् । हिजोको दिनका उच्च तहका राजनीतिक नेताले खुलेआम दर्ता नभएका कम्पनीको वकालत गर्दा कतिको पैसा डुबे, कति जेलमा गए, कति बीमा कम्पनीको नाम सुन्दा भाग्ने, गाली गर्ने अवस्थासम्म आइरहेको छ । तथापि यति चुनौंतीहरुको बाबजुद पनि बीमाको दायरा २३ प्रतिशत नेपाली जनताको घर दैलो पुग्नु भनेको खुसीको कुरा हो ।
नियमनकारी निकायले लगानीको क्षेत्रलाइ खुकुलो पार्दै विभिन्न पूर्वाधारका क्षेत्र, विकास निर्माण कार्य, वैदेशिक परियोजनाका लगानी आदिमा सहज वातावरण तयार गरिदिने हो भने उच्चतम प्रतिफल बोनसको रुपमा बीमितले आर्जन गर्न सके संस्थाप्रतिको विश्वास अझै बढ्ने थियो । नेपालजस्तो अस्थिर राजनीति भएको मुलुकमा एकातिर चुनौती र अर्कातर्फ सम्भावनाहरु छन् । यी कुराको बावजुद पनि सकारात्मक तरिकाले लिइ उत्तम बचतको महत्व, वित्तीय सुरक्षा, मानसिक शान्ति, आत्मनिर्भरता आदि सुविधाले दिनदिन महत्व बढ्दैजाने कुरामा दुईमत हुन सक्दैन ।
(ढकाल सिटिजन्स लाइफ इन्स्योरेन्सका बुटवलस्थित क्षेत्रीय शाखा प्रबन्धक हुनुहुन्छ)