
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले गएको भदौ ८ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि लामो समय नेप्से नेतृत्वविहीन हुँदा नियमित कामसमेत प्रभावित भए । करिब एक महिनाअघि मात्र कृष्णबहादुर कार्की सीईओ नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उनले कार्यभार भने दुई हप्ताअघि सम्हालेका छन् । नेप्सेका आगामी योजना र सुधारका कार्यक्रमबारे प्रमुख कार्यकारी अधिकृत कार्कीसँग ‘नेपाल लाइभ’का लागि सुमित्रा कार्कीले गरेको संवाद सान्दर्भिक ठानेर साभार प्रस्तुत गरिएको छ :
नेप्से नेतृत्वको जिम्मेवारीमा आउनुभएको छ, के–के छन् सुधारका योजना ?
मसँग नयाँ योजनाभन्दा पनि निरन्तर गर्ने कामहरु नै छन् । भइरहेका र गर्नु पर्ने कामलाई निरन्तरता दिने हो । अर्कोकुरा, अहिलेको पुँजी बजारमा कस्तो समस्या देखिएको छ ? त्यसमा नेप्सेको भूमिका के हुन्छ ? त्यसलाई मध्यनजर गरेर समाधान गर्ने योजना छ । पहिले नै स्वीकृत भएका प्रणाली विकास सम्बन्धी योजनाका कामहरु छन् । ‘कारोबार’ शाखामा निगरानीका काम छन् । अरु कामका सूची पनि तयार हुँदैछ । अन्य अनुसन्धानका केही काम छन् ।
नेतृत्वमा आउने जसले पनि सुरुमा योजना सुनाउँछन्, तर कार्यान्वयन हुँदैन । तपाईंका योजनाहरु कार्यान्वयनमा आउने विश्वास कसरी गर्ने ?
नियमित रूपमा हुने कामहरूलाई प्राथमिकतामा राखेका छौं । यसले पनि पुँजी बजार सम्बन्धी सकारात्मक सन्देश ल्याउने नै भयो । त्यस्तो कामहरु सम्पादन गर्न केही समस्या र जटिलता छन् । यसैगरी, हाम्रा सरोकारवालाहरूबाट पनि पुँजी बजार सुधारका कुरा आएका छन् । नेप्सेको केही प्रविधिगत कुराहरू पनि सुधार गर्दै लैजानुपर्ने छ । यसमा धेरै चुनौती देखिएको छ । तिनीहरुलाई समाधान गर्दै लैजानु पर्ने आवश्यकता छ र हुन्छ पनि ।
नेप्सेको नेतृत्वमा आउँदा तपाईंले यहाँ देख्नुभएका मुख्य चुनौतीहरू के–के हुन् ? ती चुनौतीको सामना कसरी गर्नुहुन्छ ?
हामीले नीतिगत चुनौती धेरै देखेका छौं । सरोकारवाला निकायसँग छलफल गर्दा पनि नीतिगत कुराको सुधार गर्नु आवश्यक रहेको पाएको छु । छिमेकी देशसहितका अन्तर्राष्ट्रिय सेयर बजारबारे अध्ययन गर्ने हो भने धेरै प्रविधिमैत्री भइसकेका छन् । त्यसअनुसार हाम्रो सेयर बजार पछाडि परेको देखिन्छ । त्यसैले हाम्रो सेयर बजारको प्रविधिमा धेरै सुधार गर्नुपर्ने आवश्यकता छ । यसका लागि नीतिगत निकायबाटै पहल थाल्नुपर्ने हुन्छ । स्टक एक्सचेन्ज भनेको सूचना प्रविधिमा आधारित भएर काम गर्ने ठाउँ हो । प्रविधिमा निरन्तर परिवर्तन भइरहेको छ ।
हामी विगतभन्दा धेरै अगाडि त छौं, तर हुनुपर्ने जति छैनौँ । अहिले सबै खालको कारोबार अनलाइनको माध्यमबाट हुन थालिसकेको छ । अझै धेरै कुरा अपग्रेड गर्न बाँकी छ । तत्काल सुधार गर्नपर्ने नीतिगत चुनौती हेर्ने हो भने, अहिले अन्तराष्ट्रिय सेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार हुन्छ । यसैगरी विभिन्न ‘डेडिकेटिङ’ कारोबार पनि हुने गरेको छ । हाम्रोमा यस्ता विषय उठे पनि कार्यान्वयनमा आएको छैन । यस्ता कामका लागि नीतिगत बाटो खुला गर्नु पर्छ । यसैगरी, नेप्सेलाई नै पुनर्संरचना गरेर लैजानु पर्ने होभने पनि लानुपर्छ । त्यसका लागि अध्ययन हुनुपर्छ ।
मुलुकको आवश्यकताअनुसार पुँजी बजारको विकास गर्छु भन्नुभएको छ, कतिको सम्भावना छ ?
सम्भावना छ । तर, चुनौती पनि छन् । देशको अवस्था र मागअनुसार नीतिगत, प्रविधिगत तथा कानुनी रूपमा सेयर बजारलाई सुधार गर्दै लैजाने हो । यसमा हामी एकदम जोडतोडका साथ अगाडि बढ्नु पर्छ ।
पुँजी बजार सीमित लगानी–कर्ताको नियन्त्रणमा चल्ने, नियामक निकायमा बसेकै व्यक्तिहरु अनियमित कारोबारमा संलग्न हुने जस्ता विकृति देखियो । यस्ता विकृति कसरी नियन्त्रण गर्नुहुन्छ ?
सेयर बजार सीमित व्यक्तिको हातमा छ भन्ने कुरा सत्य होइन । अहिले हामीले हेर्ने हो भने दैनिक पाँचलाख लगानीकर्ताले अनलाइन माध्यमबाट कारोबार गरिहेका छन् । विगतको सीमित घेराबाट सेयर बजार निस्किसकेको छ । अहिले पुँजी बजारको क्षेत्र निकै ठूलो भइसकेको छ । डिम्याट खाता खोल्नेको संख्या हेर्ने हो भने ५० लाख हाराहारीमा पुगेको देखिन्छ । अनलाइन प्रयोगकर्ताको संख्या पनि १२ लाखभन्दा धेरै छ ।
यसले के देखाउँछ भने सेयर बजार विगतमा एउटा सीमित घेरामा थिया, अहिले व्यापक विस्तार भएको छ । यति हुँदाहुँदै पनि हाम्रा केही प्रविधिगत कमजोरी तथा केही मनोगत व्यवहारका कारण समस्या भए होलान् । यसलाई अनुसन्धान गर्ने नेप्सेको एउटा शाखा नै छ । दैनिक कारोबारमा भएका कमजोरी र अस्वाभाविक क्रियाकलाप नियन्त्रण गर्न मैले अनुसन्धानको लागि निर्देशन नै दिएको छु । त्यस्तो शंकास्पद केही भेटियो र त्यसलाई कानुनी रुपमा प्रमाणित गर्न सकियो भने कारबाही अगाडि बढ्छ ।
तपाईंले आफ्नो योजना कार्यान्वयनका लागि केही न केही ‘टाइमलाइन’ बनाउनुभएको होला, अबको ६ महिना वा एक वर्षपछि नेपालको पु“जी बजारमा के–के सुधार देख्न सकिएला ?
यसमा सीईओको वा मेरो व्यक्तिगतभन्दा पनि निकायगत रूपमा लागि पर्ने र योजना बनाउने तथा कार्यान्वयन गर्नेतर्फ लाग्ने छौं । नेप्सेको वार्षिक रुपमा स्वीकृत कार्यक्रमहरू हुन्छ । वार्षिक योजनाहरु बनाउने काम हुन्छ । त्यो कार्ययोजनालाई प्रभावकारी रूपमा छिटोछरितो र गुणस्तरीय हिसाबले सम्पादन गर्नु नै मेरो पहिलो पार्थमिकता हो । त्योसँगै अन्य योजना पनि अगाडि बढाउने काम हुन्छ ।
अन्त्यमा, लगानीकर्ताहरूलाई के सन्देश वा सुझाव दिनुहुन्छ ?
सेयर बजार भनेको लगानीकर्ताको लागि ठूलो सम्भावना तथा चुनौतीको क्षेत्र हो । यसमा सबैले बुझरे लगानी गर्नु पर्ने हुन्छ । सेयर बजारमा आउन चाहानेले सेयर बजारको सबल र दुर्बल दुवै पक्षको अध्ययन तथा अनुसन्धान गर्नु आवश्यक छ । यसकारण देखा–सिकीको भरमा सेयर बजारमा लगानी गर्नुभन्दा पनि आफैँ अध्ययन गरेर सेयर बजारमा लगानी गर्न लगानीकर्तालाई सुझाव दिन्छु ।