२०८२ असार १ आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको छ । राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दै सुनमा कडाई गरेको जनाएको हो । राष्ट्र बैंकले अब दैनिक १० किलो मात्रै सुन आयात गर्न सकिने व्यवस्था गरेको हो । यसअघि दैनिक २० किलो आयात गर्न सकिने ब्यवस्था थियो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा ४ ९क० लाई देहायबमोजिम संशोधन गरेको उल्लेख छ ।

राष्ट्र बैंकले परिमाणात्मक बन्देज लगाउँदै गर्दा बैंकहरुले पनि सुन आयातलाई निरुत्साहन गर्न समय लगाउने गरेका छन्। उनीहरुले पाँच दिनमा सुन आयात गर्ने गरेकोमा केही दिनदेखि ८/१० दिनको अन्तरमा आयात गर्न थालेका छन्।

बिहे-व्रतबन्धको सिजनबाहेक पनि सुनको अत्याधिक माग हुने गरेको छ। उपभोक्तास्तरभन्दा पनि व्यापारी तहबाट सुनको माग अधिक हुने गरेको छ। राष्ट्र बैंकले हस्तकला बनाएर निर्यात गर्ने सुनका लागि कुनै बन्देज लगाएको छैन। तर गरगहनाका लागि आन्तरिक रुपमै हुने सुनको माग भने सिजन नहुँदा पनि उत्तिकै रहने गरेको छ।

केही सातादेखि सुुनको मूल्य पनि निरन्तर बढ्दै गएको छ । सुनको मूल्य बढेपछि ग्राहकहरु निरुत्साहित भएका छन्। तैपनि व्यापारीस्तरबाट भने माग उच्च छ। आइतबार मात्रै सुन तोलाको एक लाख एक हजार ९ सय रुपैयाँ पुगेको छ।

व्यवसायीहरुले पनि अहिले सुनको माग नभएको बताएका छन्। उनीहरुले भोलिका लागि भन्दै आयात भएको सुन उठाउन थालेका थिए। यद्यपि, दुबईबाट नेपाल आएको सुन अन्ततः भारत पुग्ने गरेको पनि पाइएको छ। यो अवैध च्यानल हो।

सुनको उच्च आयातले देशको विदेशी मुद्रा सञ्चिति घटेर आयात गर्ने क्षमता दिनहुँ घटिरहेको छ। अहिले भएको सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात गर्न मात्र पुग्छ। विकासका परियोजना अगाडि बढे त्यसलाई चाहिने पुँजीगत वस्तु आयातका लागि समेत विदेशी मुद्राको सञ्चिति अपुग हुने अवस्था छ।

वार्षिक ३७/३८ अर्ब रुपैयाँको सुन आयात हुने र त्यसले अर्थतन्त्रलाई केही पनि योगदान नगर्ने भएपछि धेरै परिमाण मात्र थुपारेर के गर्ने भनेर कोटा घटाइएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। बैंकरले पनि अनावश्यक सुन आयातले अर्थतन्त्रलाई संकटमा पार्ने भएकाले यसलाई बैंकरका तर्फबाट निरुत्साहन गर्न थालिएको बताएका छन्। यद्यपि, बैंकहरुसँग अझै पनि ३०० किलो सुन मौज्दात नै छ।

विगतमा पनि सुन आयातले शोधानन्तर घाटा बढेपछि सुन आयातमा प्रतिबन्ध लगाइएको थियो। सुन आयात पूर्णरुपमा प्रतिबन्ध लगाएपछि विस्तारै शोधनान्तर धनात्मक बनेको थियो। पोहोर चैतमा पनि सुनको दैनिक कोटा १० किलो थियो। विदेशी मुद्राको सञ्चिति राम्रो भएका कारण कोटा बढाइएको थियो। विदेशी मुद्राको सञ्चिति घटे सुनको कोटा अझै घटाउने योजना राष्ट्र बैंकको छ।

पछिल्लो समय राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमाा कडाई गरिरहेको छ । बिदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंक आयातित वस्तुमा कडाई गर्न बाध्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय