
काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगैं ढुवानीको भाडा पनि वृद्धि गर्नुपर्ने भन्दै पेट्रोलियम व्यवसायीले १५ दिनको अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएका छन्।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन, नेपाल ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको प्रतिनिधित्व हुने गरि गठन भएको पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पत्रकार सम्मेलन गर्दै भाडा नबढाए ढुवानी रोक्ने चेतावनी दिएका हुन्। १५ दिन भित्र माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले जानकारी दिए।
यी संस्थाले धेरै अघिदेखि निगम व्यवस्थापनलाई डिजलको भाउ बढे अनुसार भाडा निर्धारण गर्न माग गर्दै आएका थिए। तर निगम व्यवस्थापनले समयमा निर्णय नगर्दा व्यवसायीले आन्दोलनको चेतावनी दिएका हुन्। समितिले सरकारलाई ६ बुँदे ज्ञापनपत्र दिइसकेको छ।
समितिका संयोजक कुशप्रसाद मल्लीले इन्धनको भाउ पटकपटक बढ्दा समेत भाडा समायोजन नभएपछि सरकारलाई १५ दिने अल्टिमेटम दिएको बताए। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले २०७५ सालदेखि हालसम्म १६ पटक डिजलको मूल्य बढ्दा समेत भाडा समायोजन नभएको बताए। उनका अनुसार डिजलको भाउ लिटरको ९७ रुपैयाँबाट १ सय ३३ रुपैयाँ पुग्दा पनि ढुवानी भाडा समायोजन भएको छैन।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले अन्य क्षेत्रको सवारी साधनको भाडा २८ प्रतिशतले बढ्दा पनि पेट्रोलियममा भने यथावत राखिएको बताए।