२०८१ मंसिर २२ शनिबार

– आनन्दवंश न्यौपाने
स्कान्डेभेनियन मुलुकहरू विश्वका समृद्ध मुलुकको सूचीमा अग्रपङ्तिमा रहने गर्दछन् । यस सूचीमा आउने डेनमार्कबारे धेरैलाई चासो हुने गरेको छ । यहाँ का नागरिकको जीवनस्तर विश्वकै उच्च मध्येको मानिन्छ । प्रतिव्यक्ति आयको सूचीमा डेनमार्क शीर्षस्थ स्थानमा आउँ छ। खुला बजार अर्थतन्त्रमा आधारित डेनमार्कमा लोक कल्याणकारी व्यवस्था पनि उत्तिकै मजबुत छ । त्यहाँका करिब ८० प्रतिशत मानिसहरूले सेवाक्षेत्रमा रोजगारी गर्दै आएका छन् भने ११ प्रतिशतले उत्पादनमूलक क्षेत्रमा तथा २ प्रतिशतले कृषि क्षेत्रमा रोजगारी पाएका छन् । ७ प्रतिशत भने अन्य क्षेत्रमा कार्यरत छन् । अधिकांस आर्थिक सुचकांकमा अग्रपङ्तिमा रहको डेनमार्क विश्व खुसी सुचकांकमा पनि अगाडि नै रहेको छ । त्यसैगरी, यस देशमा सञ्चालित सामाजिक सुरक्षाको व्यवस्थालाई पनि उत्तिकै अब्बल मानिन्छ । त्यहाँ करमा आधारित तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । पेन्सन सुविधा, बिरामी तथा मातृत्व सुविधा, कार्यस्थल दुर्घटना सुविधा, अशक्तता सुविधा, बेरोजगार तथा पारिवारिक भत्ता आदि सामाजिक सुरक्षा कार्यक्रमहरू अस्तित्वमा रहेका छन् ।

डेनमार्कमा करमा आधारित र योगदानमा आधारित गरी दुई प्रकारका सुरक्षा कार्यक्रम संचालनमा छन् । यस अन्तरगत वृद्धावस्था, अशक्तता तथा आश्रित गरी तीन किसिमका पेन्सन प्रणाली प्रचलनमा रहेका छन् । डेनमार्कमा करमा आधारित पेन्सन योजनाले त्यहाँको ९०५ जनतालाई समेटेको छ, जसलाई यूनिभर्सल पेन्सन योजनाको नामले चिनिन्छ । त्यसैगरि, योगदानमा आधारित पेन्सन योजनामा प्रचलित कार्यक्रम हो – श्रमबजार पूरक पेन्सन (ATP) कार्यक्रम । यो कार्यक्रम श्रम बजार पूरक पेन्सन इन्स्टिच्युसन नामक सरकारी संस्थामार्फत संचालित छ । नेपालमा जस्तै यो योजना त्यहाँको सरकार, रोजगारदाता र श्रमिकहरूको सहकार्यको उपजको रुपमा लागू भएको हो । यसमा योगदानकर्ताले ९ देखि १७ प्रतिशतसम्म योगदान गर्न पाउँछन् । सामान्यतया उच्च आय भएकाले बढी योगदान गर्न पाउँछन् । औसतमा डेनमार्कका श्रमिकहरूले ११ प्रतिशत योगदान जम्मा गर्दछन् । योगदानकर्ता श्रमिकले जम्मा गर्ने उक्त रकम कुल योगदान रकमको एक तिहाई मात्र हो । बाँकी दुई तिहाई रोजगारदाताले तिर्ने गर्दछ । यो योजनाअन्तर्गत थुप्रै कार्यक्रमहरू संचालनमा छन् ।

‘नेपालमा जस्तै यो योजना त्यहाँको सरकार, रोजगारदाता र श्रमिकहरूको सहकार्यको उपजको रुपमा लागू भएको हो । यसमा योगदानकर्ताले ९ देखि १७ प्रतिशतसम्म योगदान गर्न पाउँछन् । सामान्यतया उच्च आय भएकाले बढी योगदान गर्न पाउँछन् । औसतमा डेनमार्कका श्रमिकहरूले ११ प्रतिशत योगदान जम्मा गर्दछन् । योगदानकर्ता श्रमिकले जम्मा गर्ने उक्त रकम कुल योगदान रकमको एक तिहाई मात्र हो । बाँकी दुई तिहाई रोजगारदाताले तिर्ने गर्दछ ।’

यो कार्यक्रममा प्रत्येक योगदानकर्ताले पाउने पेन्सन रकम उसले जम्मा गरेको योगदान रकममा निर्भर हुन्छ । यो कार्यक्रममा हप्तामा ९ घण्टा वा सोभन्दा बढी काम गर्ने १६ देखि ६५ बर्षसम्मका श्रमिकहरू, सन् २००३ भन्दा अगाडि प्रत्याभूत गरिएका अशक्तता पेन्सनकर्ताहरू, बिरामी, मातृत्व तथा बरोजगारहरू तथा सामाजिक सहायता लाभग्राहीहरू अनिवार्य आवद्ध हुनुपर्ने नियम छ । उनीहरूले हरेक बर्ष एक निश्चित रकम योगदान गर्नुपर्ने प्रावधान छ । सन् २०१४ मा जारी नियमानुसार प्रत्येक पूर्णकालीन कर्मचारीले बार्षिक ३,२४० क्रोनर जम्मा गर्नुपर्ने हुन्छ । बिरामी तथा मातृत्व सुविधा, बेरोजगारी सुविधा तथा व्यवसायिक तालिम सुविधा लिनका लागि भने योगदानकर्ताले दोव्बर रकम योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ । योगदान रकम मासिक वा चौमासिक रुपमा कोषमा जम्मा गर्न सकिने व्यवस्था छ । यदि कर्मचारी पूर्णकालीन नभएको खण्डमा भने योगदान गर्नुपर्ने रकम कम हुने व्यवस्था छ । स्वरोजगारमा रहेकाले बार्षिक ३,४०८ क्रोनरसम्म बुझाउनुपर्दछ जो चौमासिक रुपमा कोषमा रकम जम्मा गर्नुपर्दछ । विदेशमा रहेर पनि पेन्सनको भुक्तानी प्राप्त गर्न सकिन्छ ।
वृद्धावस्था पेन्सन सुविधा
डेनमार्कमा वृद्धावस्था पेन्सन योजनाका निम्ति निवृत हुने उमेर ६५ वर्ष (सन् २०२२ सम्म ६७ वर्ष र सन २०३० सम्म ६८ वर्ष हुने अनुमान गरिएको) कायम छ । पूर्ण पेन्सन (Full Pension) सुविधा लिन योगदानकर्ता श्रमिकले लगातार तथा पूर्ण रकम योगदान गरेको हुनुपर्दछ । यसरी पेन्सन पाउँदा हरेक योगदानकर्ताले लिएको कभरेज र भुक्तान गरेको योगदान संख्याको आधारमा गणना गरिन्छ । प्रत्येक योगदानकर्ताले वार्षिक अधिकतम करिब २५,००० क्रोनर पेन्सन पाउँछन् । २,५०० क्रोनरदेखि कमको पेन्सन भने एकमुष्ट रुपमा प्रदान गरिन्छ ।
यो कार्यक्रममा सहभागी योगदानकर्ताले पेन्सनयोग्य उमेरमा पुगेपछि १० बर्ष ढिलो पेन्सन लिने गरी पेन्सन स्थगन गर्न पनि पाउँछन् । यसका लागि कम्तिमा वार्षिक ७५० घण्टा काम गर्नैपर्छ । यसरी ढिलो पेन्सन लिएमा (६५ वर्षदेखि ७५ वर्ष उमेरभित्र) स्थगन गरिएको पेन्सन हरेक स्थगन वर्षमा ५ प्रतिशतले वृद्धि हुन्छ । तर सरकारको वित्तीय अवस्था हेरी यो सुविधामा समायोजन हुन सक्ने प्रावधान पनि राखिएको छ ।
अशक्तता पेन्सन सुविधा
स्थायीरुपमा कार्यक्षमता घटेको तथा कुनैपनि आय–आर्जनमूलक काम गरी योगदानकर्ताले आफ्नो जीवननिर्वाह गर्न सुनिश्चित नभएको भनी मूल्याङ्कन गरिएको अवस्थामा यस पेन्सन सुविधा प्रदान गरिन्छ । तर यदी योगदान–कर्ताको काम गर्ने क्षमता कुनै उपचार पद्धति वा अन्य प्रक्रिया मार्फत सुधार हुन सक्ने भनी मूल्याङ्कन गरिएमा यो सुविधा प्रदान गरिदैन । यस सुविधा प्राप्त गर्न १५ देखि ६५ वर्षको उमेर भित्र डेनिसका लागि कम्तिमा ३ वर्ष र विदेशीका लागि कम्तिमा १० वर्ष डेनमार्कमा स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान छ । यो योजनामा अबिवाहितलाई वार्षिक १,९५,४२० क्रोनर र दम्पतीलाई वार्षिक १,६६,१०४ क्रोनर सुविधा भुक्तान गरिन्छ । 1US $ = 6.87 D Kroner, 1US $ = 121.21 NPR, 1 Kroner = 17.73 NPR,) यदि अविवाहितको ६६,५०० क्रोनर र विवाहितको हकमा १,०५,५०० क्रोनरभन्दा बढी आम्दानी छ भने ३०५ पेन्सन रकम घटाइन्छ । ज्यालादरमा भएको परिवर्तन बमोजिम सुविधा पनि समायोजन गरिने प्रावधान राखिएको छ । पेन्सनयोग्य उमेरमा पुगेपछि अशक्तता पेन्सनलाई वृद्धावस्था पेन्सन सुविधाले प्रतिस्थापन गर्दछ ।
अशक्तता पूरक सविधा : अशक्तताकै कारण अतिरिक्त खर्च गर्नुपरेमा सो पुरा गर्न यो सुविधा दिइन्छ । पूरक सुविधामा अशक्तताको परिस्थितिलाई मूल्याङ्कन गरेर अतिरिक्त खर्चलाई ध्यानमा राखी मासिक न्यूनतम १,५०० क्रोनर प्रदान गरिन्छ । अनुमानित अतिरिक्त खर्च वार्षिक ६००० क्रोनर वा मासिक ५०० क्रोनर भन्दा बढी हुनुपर्छ । यसमा आय परीक्षण गरिदैन ।
अनुमानित जेष्ठता पेन्सन ः शारीरिक तथा रोजगारीजन्य स्वास्थ्य समस्याका कारण कम्तिमा २५ वर्ष पूर्णकालीन काम गरी सामान्य अवकाश उमेरभन्दा ५ वर्ष अगाडि काम छोडेकालाई प्रदान गरिन्छ ।
आश्रित पेन्सन सुविधा
यदि श्रमिकले सन् २००२ पछि कम्तिमा २ वर्ष योगदान गरेपश्चात् निजको मृत्यु भएको छ भने आश्रित पति वा पत्नी (समलिंगी वा विपरितलिंगी) लाई यो सुविधा प्रदान गरिन्छ । यो योजनामा मृतकको परिवारलाई १०,५५० क्रोनरसम्म (आश्रित १८ वर्षभन्दा कम उमेरको भएमा ८,८५० क्रोनर) मृत्यु अनुदानको रुपमा एकमुष्ट भुक्तान गरिन्छ । यो सुबिधा वार्षिक रुपमा ज्यालादरमा परिवर्तन भएबमोजिम समायोजन गरिन्छ । वृद्धावस्था पेन्सन वा अशक्तता पेन्सन लिएको वा प्राप्त गर्न योग्य रहेको अवस्थामा श्रमिकको मृत्यु भएमा तीन महिना बराबरको पेन्सन सुविधा आश्रितलाई प्रदान गरिन्छ ।
आश्रित भत्ता : यस योजनामा पति वा पत्नीको आय परीक्षण गरी एकमुष्ट १४,२६८ क्रोनरसम्म प्रदान गरिन्छ । आय परीक्षण गर्दा यदि जिवित पति वा पत्नी वा साथमा रहेकाको वार्षिक आम्दानी २,३४,८९५ क्रोनरभन्दा बढी भएमा सुविधा घटाएर प्रदान गरिन्छ । तर, यदि वार्षिक ३,६७,०२१ क्रोनर भन्दा बढी भएमा यो सुविधा प्रदान गरिंदैन । सन् २००२ पछि कम्तिमा २ वर्ष योगदान गरेकाका लागि एकमुष्ट ५०,००० क्रोनर मृतकको पति वा पत्नीलाई तथा सन्ततीलाई दिइन्छ । सन् २००३ अगाडी योगदान गरेका मृतक योगदानकर्ताको जम्मा रकम भने आश्रितलाई एकमुष्ट प्रदान गरिन्छ ।
(लेखक न्यौपाने सामाजिक सुरक्षा कोषमा सहायक निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय