काठमाडौं । गत जनवरी महिनामा १५० देशका १६ हजार ९७५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारीले थलिएको पर्यटन उद्योगमा गत महिना नेपाल भित्रिएका पर्यटकको संख्याले आगामी दिनहरु शुभ रहने संकेत गरेको छ ।
अध्यागमन विभागका अनुसार २०२२ जनवरीमा नेपाल भित्रने पर्यटकमा १० हजार ८१० जना पुरुष र ६ हजार १५७ जना पहिला रहेका छन् । सो महिना नेपाल प्रवेश गर्ने ८ जनाको भने पहिचान खुलेको छैन ।
जनवरीमा अष्ट्रेलियाबाट १ हजार २१३, बंगलादेशबाट १ हजार २३६, चीनबाट ३२१, जर्मनीबाट ३६५, भारतबाट ३ हजार ९१६, बेलायतबाट १ हजार ८२४ र अमेरिकाबाट ३ हजार २५७ जना पर्यटक नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ ।
गत जनवरीमा नेपाल भ्रमणमा रहेका १७ हजार ९८४ जना पर्यटक स्वदेश फर्केका छन् । यसरी फर्कनेमा ११ हजार ६१७ जना पुरुष र ६ हजार ३६१ जना महिला पर्यटक रहेका छन् । फर्कनेमध्ये ६ जनाको पहिचान खुलेको छैन । जनवरीमा कूल ३४ हजार ९५९ जना पर्यटकले नेपालमा आवतजावत गरेका छन् ।
विश्वमा कोरोना महामारी फैलिएपछि सबैभन्दा बढी प्रभावित क्षेत्रमा पर्यटन पनि पर्दछ । कोरोना नियन्त्रण गर्न विश्वभर लकडाउन भएपछि पर्यटकको आवतजावत प्रायः ठप्प बनेको थियो ।
कोरोना खोपको विकास र प्रयोग बढेसँगै पर्यटकको आवतजावत विस्तारै बढ्न थालेको छ । कोरोना महामारीबीच गत वर्ष सन् २०२१ मा नेपालमा १८१ देशका १ लाख ५० हजार ९६२ जना पर्यटकले भ्रमण गरेका थिए ।
एक महिनामा दुईलाख १३ हजार आवतजावत
कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)बाट जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।
अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् ।
विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् । सन् २०२२ जनवरीमा नेपाल छोड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ ।
जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ ।
गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआईबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।