काठमाडौं । सहकारी संस्थाहरुका लागि ब्याजदरको सीमा १.२५ प्रतिशतले बढेको छ। सहकारी विभागले सूचना जारी गर्दै फागुन १५ देखि लागू हुनेगरी ब्याजदरको अधिकतम सीमा १६ प्रतिशतमा नबढ्ने गरी निर्धारण गरिएको जनाएको छ।
बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुनेगरी कारोबार गर्नु पर्नेछ। बचत तथा ऋणको कारोबार गर्ने सबै संघ-संस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ १ प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने विभागको सूचनामा उल्लेख छ।
पछिल्लो समय निक्षेप संकलन घट्दा बैंकहरुमा लगानीयोग्य रकम अभाव देखिनुको असर सहकारीहरुमा पनि परिरहेको छ। निक्षेप आकर्षित गर्न बैंकहरुले ब्याजदर ११ प्रतिशतसम्म पुर्याएका छन्।
सहकारी विभागले यसअघि सहकारीहरुका लागि ब्याजदर १४.७५ तोकेको थियो। कर्जाको ब्याजदर १४.७५ भए पनि सेवाग्राहीसँग नवीकरण र सेवाशुल्कका नाउँमा निकै बढी असुल्ने गरेको आरोप सहकारीहरूलाई लाग्दै आएको छ।
ऋणको ब्याजदर बैंकमै १५ प्रतिशत नाघेको भन्दै सहकारीहरूले पनि कर्जाको ब्याज बढाउन पाउनुपर्ने मागसहित नेपाल लघुवित्त बैंकर्स संघ र राष्ट्रिय सहकारी महासंघले गतसाता विभागमा ज्ञापनपत्र बुझाएका थिए।