![](https://businessbahas.com/wp-content/uploads/2022/02/sahakari.jpg)
काठमाडौं । ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन । मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन ।
ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनु भयो । उहाँले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पार्नु भयो ।
कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताउनु भयो । उहाँले बैंकहरुको ब्याजदर घटाउनु पर्यो कित विगतमा जस्तै सहकारी आफैलाई स्वविवेकले चल्न दिनु पर्ने जिकिर गर्नु भयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले बैंकहरुका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताउनु भयो । उहाँले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नु पर्ने बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको बताउनु भयो । उहाँले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने बताउनु भयो ।