काठमाडौं । पछिल्लो समय नक्कली नोटको कारोबार बढ्दै गएको छ। प्रहरीले नक्कली नोटको कारोवार गर्ने मानिसलाई पक्राउ गरेको संख्या र बरामद गर्ने नोटको संख्या हेर्दा कारोबारीहरु निकै सक्रिय भएको देखिन्छ।
चालु आर्थिक वर्षको ६ महिनामा मात्र देशभरबाट ५५ जनालाई प्रहरीले नक्कली नोट सहित पक्राउ गरेको छ। यसरी पक्राउ पर्नेहरुमा ८ जना विदेशी नागरिक समेत रहेका छन्। साउनमा ५ जना, भदौमा ११ जना, असोजमा १३ जना, कार्तिकमा ४ जना, मंसिरमा ११ जना र पुसमा ११ जना समातिएका छन्।
गएको आर्थिक वर्षममा देशभर ४० लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको नक्कली नोट फेला परेको थियो। जसमा ४३ जना मानिस समातिएका थिए। आर्थिक वर्ष २०७६/७७ मा ६३ जना समातिएका थिए। त्यस्तै १ करोड ९१ लाख ८९ हजार १ सय रुपैयाँको नक्कली नोट समेत भेटिएको थियो।
यसरी समातिएका मानिसहरु मध्ये धेरैले फोटोकपी मेसिनको प्रयोग गरेर नक्कली नोट छापेको बताएका थिए।