
काठमाडौं । फागुन महिनाको पहिलो साता सेयर बजारमा २.४६ प्रतिशतको गिरावट आएको छ। २८०१.५६ को विन्दुबाट सुरु भएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन २७३२.५१ को विन्दुमा कायम छ। सातामा नेप्सेले ६९.०५ अंक गुमाएको छ।
‘क’ वर्गका कम्पनीहरुको गतिविधि मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यो साता ८.६४ अंक अर्थात १.६४ प्रतिशत घटेको छ। साताको अन्तिम कारोबार दिन सेन्सेटिभ परिसूचक ५१८.६४ विन्दुमा छ।
बजार घट्दा लगानीकर्ताले सातामा ८९ अर्ब ३५ करोड ३६ लाख रुपैयाँ पुँजीबजारबाट गुमाएका छन्। गत साताको अन्तिम कारोबारपछि ३९ खर्ब ५९ अर्ब ६४ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबारको कारोबारपछि २.२६ प्रतिशत घटेर ३८ खर्ब ७० अर्ब २९ करोड रुपैयाँमा सीमित छ।
यो साता नेप्से परिसूचकसँगै अधिकांश उपसमूह पनि ओरालो लागेका छन्। सर्वाधिक गिरावट उत्पादन तथा प्रसोधन उपसमूहमा देखिएको छ। सातामा उपसमूह ५.८१ प्रतिशत घटेको छ। लगानी उपसमूह पनि ४.४९ प्रतिशत घट्यो। वित्त र निर्जीवन बीमा उपसमूह पनि करिब ४ प्रतिशत हाराहारी नै घटे।
तीन प्रतिशत अधिक घटेका विकास बैंक, जलविद्युत र व्यापार उपसमूह पनि हुन्। सबैभन्दा कम घटेको उपसमूह सामूहिक लगानी कोष हो। गत साताको तुलनामा उपसमूह १.३ प्रतिशत मात्र घटेको छ। लघुवित्त उपसमूह पनि यो साता १.३६ प्रतिशत घट्यो।
यो साता बढ्नेमा केबल अन्य उपसमूह हो। गत साताको तुलनामा उपसमूह झन्डै एक प्रतिशत बढेको छ। कारोबार रकम र मात्रामा पनि संकुचन आएको छ। साताभर औसतमा ३ अर्ब ६३ करोड ९८ लाख रुपैयाँ बराबरका ७० लाख ४४ हजार सेयर किनबेच भए। गत साता औसतमा ४ अर्ब ८८ करोड ९२ लाख रुपैयाँ बराबरको ९१ लाख ३७ हजार कित्ता कारोबार भएका थिए ।
२४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँ रहेको गत साताको कारोबार रकम ६ अर्ब २४ करोड ७२ लाख रुपैयाँ घटेर १८ अर्ब १९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। कारोबार रकममा यो साता २५.५५ प्रतिशत गिरावट देखिएको छ।
कारोबार मात्रा पनि ३ करोड ५२ लाख २४ हजार कित्तामा सीमित छ। गत साता ४ करोड ५६ लाख ८९ हजार कित्ता कारोबार भएको थियो। सातामा कारोबार मात्रा एक करोड ४ लाख ६५ हजार कित्ता अर्थात् २२.९१ प्रतिशत घटेको छ।