काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कोरोना प्रभावितलाई कर्जामा दिइएको सहुलियतमा कटौती गरेको छ । बाह्य क्षेत्रमा देखापरेको असन्तुलनलाई मध्यनजर गर्दै पुनर्कर्जालगायत अन्य नियामकीय सुविधालाई क्रमश: कम गर्दै जाने नीति लिएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर पनि बढाएको छ ।
“यस बैंकबाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको असल कर्जाको धितोमा प्रदान गरिने पुनरकर्जा सुविधाअन्तर्गत सम्बन्धित ग्राहकबाट लिन पाउने अधिकतम ब्याजदर ७ प्रतिशत कायम गरिनेछ,” मौद्रिक नीति समीक्षामा भनिएको छ । यसअघि पुर्नकर्जाको अधिकतम ब्याजदर ५ प्रतिशत रहेको थियो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरूमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुनेगरी फरक पार्ने सम्बन्धमा अध्ययन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
उक्त व्यवस्था आगामी त्रैमासदेखि कुनै एक क्षेत्रबाट नमुनाकोरूपमा कार्यान्वयनमा ल्याइनेसमेत राष्ट्र बैंकले जनाएको छ । यस्तै कोभिड १९ को प्रभावलाई मध्यनजर गरी वाणिज्य बैंकहरूले आ–आफ्नो विशेषज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गतका कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने केन्द्रीय बैंकले जनाएको छ ।