
काठमाडौं । विश्व बैंकले कोरोना जनस्वास्थ्य संकटले शताब्दीयताकै ठूलो विश्वव्यापी आर्थिक संकट निम्त्याएको जनाएको छ । कोरोना महामारीका कारण आर्थिक वृृद्धिमा गम्भीर धक्का लाग्नुका साथै गरिबी र आर्थिक असमानता बढेको विश्व बैंकले उल्लेख गरेको छ । विश्व बैंक समूहले वार्षिकरूपमा प्रकाशन गर्ने विश्व विकास प्रतिवेदनको सन् २०२२ संस्करणमा उक्त कुरा उल्लेख छ ।
बैंकले सार्वजनिक गरेको फाइनान्स फर एन इक्टेवल रिकर्भरी अर्थात् समतामूलक आर्थिक पुनस्र्थापनामा वित्तको भूमिका नामक प्रतिवेदनअनुसार विकासोन्मुख मुलुकमा कोरोनाले पैदा गरेको संकट र गैरपारदर्शी ऋणले सिर्जना गरेको वित्तीय कमजोरीबाट आर्थिक जोखिम वृद्धि भएको छ ।
बढ्दो मुद्रास्फीति र व्याजदर वृद्धिले आर्थिक सुधारमा थप चुनौती खडा गरेको भन्दै विकासशील मुलुकले स्वस्थ वित्तीय क्षेत्र निर्माणतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ । प्रतिवेदनअनुसार कोरोनाबाट अर्थतन्त्रमा पुगेको असर न्यूनीकरणका लागि कतिपय मुलुकले आपत्कालीन कोरोना स्टिमुलस प्रारम्भ गरेका थिए, जसले व्याप्त सामाजिक-आर्थिक प्रभाव कम गर्न मद्दत ग¥यो ।
निष्क्रिय कर्जामा देखिएको पारदर्शिताको कमी, संकटग्रस्त सम्पत्तिको सुस्त व्यवस्थापन, कमजोर घरपरिवार र व्यवसाय ऋणको पहुँचबाट टाढा रहनुले असमानतामात्र नभई गम्भीर आर्थिक समस्या उत्पन्न गर्ने प्रतिवेदनको ठहर छ ।
कठिन विश्वव्यापी वित्तीय अवस्था र विकासोन्मुख मुलुकमा निजी लगानीभन्दा धेरै घरेलु लगानीमा मानिसको आकर्षण बढ्दा आर्थिक रिकभरी कम गरिरहेको विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासले बताउनुभयो ।
समस्या समाधान गर्न कर्जामा फराकिलो पहुँच र वृद्धि उन्मुख पुँजी विनियोजनतर्फ काम गर्नुपर्ने उहाँको सुझाव छ, जसले साना तथा गतिशील फर्म र उच्च वृद्धि सम्भावना भएका क्षेत्रमा लगानी गर्न र रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।