
काठमाडौं । भुक्तानी सेवा प्रदायक संस्थाहरूबीच अन्तरआबद्धता कायम गर्नेक्रम बढ्न थालेको छ । सोहीक्रममा फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ ।
सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्युआरमार्फत् सहजै रकम भुक्तानी गर्न सक्नेछन् । सो अवसरमा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भन्नुभयो, ‘हामीले पहिलादेखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आएका थियौँ, पछिल्ला दिनमा नियामक निकाय राष्ट्र बैंकले पनि अन्तरआबद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाइँ भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आहृवान गर्दछौँ ।’
प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले भन्नुभयो, ‘फोनपेसँगको सहकार्यका लागि सबैलाई धन्यवाद छ । हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अघि बढ्नुपर्छ ।’ डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्षअघि स्थापना भएको फोनपेमा हाल पाँच लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेका कम्पनीले जनाएको छ ।