काठमाडौं । कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९०.५२ प्रतिशत पुगेपछि माघ दोस्रो साताबाट वाणिज्य बैंकहरुको ऋण लगानी लगभग ठप्प भएको छ ।सीडी रेसियो असरसम्म ९० प्रतिशतभित्र ल्याउनु पर्ने व्यवस्था छ।
यद्यपि ९० प्रतिशत नाघेकाहरुलाई यो निर्देशन हो। ९० प्रतिशत ननाघेकाहरुलाई माथि पुर्याउन छुट छैन। राष्ट्र बैंकले नाघेकाहरुसँग पनि कसरी झार्ने भनेर कार्ययोजना मागिसकेको छ। त्यही भएर बैंकहरु असार अघि नै सीडी रेसियोमा बाँधिन पुगेका छन्। यही कारण उनीहरुले ऋण रोकेका हुन्।
बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, माघ १४ गतेदेखि २१ गतेसम्म आउँदा कुल ऋण एक अर्ब रुपैयाँले बढेको छ। २७ वाणिज्य बैंकबाट जम्मा एक अर्ब रुपैयाँ ऋण बढेको हो। यो बीचमा केही बैंकको ऋण घटेको पनि छ।
यद्यपि माघभरिमा भने ६ अर्बले ऋण बढेको छ। पछिल्लो एक सातादेखि मात्र ऋण ठप्प भएको हो। चालु आर्थिक वर्षभरी भने कुल ४ खर्ब २८ अर्ब रुपैयाँले ऋण बढेर ४१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।
यता निक्षेपमा सामान्य सुधार देखिए पनि माघभरीको तथ्यांक हेर्ने हो भने १३ अर्ब रुपैयाँले घटेको छ। पछिल्लो साता ४ अर्ब रुपैयाँले बढेको छ। यही कारण १७ अर्बले घटेको निक्षेप १३ अर्ब रुपैयाँ मात्र घटेको देखिएको हो। चालु वर्षभरी निक्षेप ११० अर्बले बढेर ४१ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ।