
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस र खल्तीबीच सहकार्यको सहमति भएको छ । एक कार्यक्रमबीच फोनपेका नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्युआरमार्फत् सहजै रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
फोनपेका नायब प्रमुख कार्यकारी सापकोटाले भन्नुभयो, ‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौँ । हामी दुवै कम्पनीको लडाइँ भनेको नगद कारोबारसँग हो । क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्दत पुग्नेछ ।’
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भन्नुभयो, ‘यस सहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन् ।’