काठमाडौं । रात्रिकालीन व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरी एक हप्ताभित्र पनि सरकारले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्न नदिए एक लाख व्यवसायी र तीन लाख मजदुरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।
दरबारमार्ग व्यवसायी संघका संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिनुभयो । वार्षिक पाँच अर्बसम्म कर बुझाउने व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसकेकाले सडकमा उत्रनुको विकल्प नरहेको उहाँको गुनासो छ । गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर पीडा सुनाए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
रात्रिकालिन मनोरञ्जन व्यवसायका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो । आफ्ना समस्या सुनाउन धेरै मन्त्रालयमा पुगेपछि आश्वासन पाउने तर कार्यान्वयन नहुने गरेको उहाँको गुनासो छ ।
अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालीन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर सञ्चानल गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले रात्रिकालीन व्यवसाय बन्द हुँदा कामदारले धमाधम आत्महत्या गरिरहेको भन्दै संघर्षमा उत्रनुको विकल्प नभएको बताउनुभयो ।
कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा दुई सय ५० जनाभन्दा बढी कामदारले आत्महत्या गरिसकेको उहाँले बताउनुभयो । केशरबहादुर बुढाथोकीले अन्य पेशा व्यवसायभन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालीन व्यवसाय भएको भन्दै पटक–पटक बन्द गराइँदा अर्बौं नोक्सान भएको गुनासो गर्नुभयो ।