२०८१ पुष २९ सोमबार

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु विदेशमा बसोवास गरिरहेको देखाएको छ । परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२८ प्रतिशत हो ।

विदेशमा हामी धेरैलाई ५० लाख भन्दा बढि नेपाली विदेशमा बस्छन् भन्ने लागेको थियो । तर केन्द्रीय तथ्यांक विभागले जारी गरेको जनगणनाको प्रारम्भिक प्रतिवदेनले यस कुरालाई गलत सावित गराईदिएको छ । न्यूनतम पनि ४० लाख भन्दा बढि नेपालीहरु विदेशमा छन् भन्ने आँकलन गरिएको थियो ।

विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १०३ (१८.७२ प्रतिशत) छ । दश वर्षअघि २०६८ सालमा विदेशमा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार ४९४ थियो, जसमध्ये पुरूष १६ लाख ८४हजार ०२९ (८७.६४ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.३६ प्रतिशत) थिए ।

२०६८ को तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९ प्रतिशतले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ रजनसंख्या विदेशमा छन् ।

यसैबीच नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ । अघिल्लो पटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । विभागले ५६ लाख ४३ हजार ९ सय ४५ घरपरिवारमा पुगेर जनगणा गरेको जनाएको छ ।

खाली घर कति भन्ने बारे पछि खुलाईने विभागले जनाएको छ । अहिले ५६ लाख ४३ हजार ९ सय ४५ घरमा ६७ लाख ६१ हजार ५९ परिवार बसोबास गरिरहेको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा बढि मधेस प्रदेशको जनसंख्या रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर