
काठमाडौं । माघ महिनाको पहिलो एक सातामै बैंकहरुबाट १७ अर्ब रुपैयाँ निक्षेप गायब भएको छ। पुस लागेपछि निक्षेपमा निरन्तर सुधार हुँदै आएको थियो। मंसिर मसान्तको तुलनामा पुस मसान्तसम्म आइपुग्दा निक्षेप ८७ अर्ब रुपैयाँले बढेको थियो। निक्षेप बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँसम्म पुगेको थियो।
जब माघ लाग्यो, त्यसमा पनि साताको अन्तिमतिर बैंकहरुबाट निक्षेप गायब हुन थाल्यो – एक बैंकरले भने, ‘आयातका लागि भुक्तानी भएको पनि देखिँदैन।’
बैंकरको अनुमान थियो, पुस मसान्तताका नै निक्षेप घट्छ। तर माघको पहिलो साता निक्षेपमा गिरावट आएको छ। बैंकर्स संघले उपलब्ध गराएको माघ ७ गतेसम्मको तथ्यांक अनुसार, विदेशी मुद्राको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। कुल निक्षेप भने १३ अर्ब रुपैयाँले घटेको छ। त्यसमाथि नेपाली मुद्राको निक्षेप मात्र १७ अर्ब रुपैयाँले घटेको छ।
‘७ गतेसम्म आन्तरिक ऋण पनि उठेको छैन। आयल निगमले भारत पैसा पनि ७ गते पछाडि मात्र पठाएको हो,’ अर्का एक बैंकरले भने, ‘तैपनि निक्षेप गायब छ।’ उनको अनुमानमा केही पैसा लकडाउनको हल्लाले झिकिएको हुन सक्छ। ‘तर नगद रुपैयाँ यति धेरै झिक्न पनि सम्भव छैन,’ उनले भने।
यो बीचमा ऋण बिस्तार जम्मा एक अर्ब रुपैयाँ भएको छ। विदेशी मुद्राको ऋण अझ घटेको छ। सात अर्बले यस्तो ऋण घट्दा कुल ऋण एक अर्बले घटेको छ। स्वदेशी मुद्राको ऋण भने ८ अर्ब रुपैयाँले बढेको छ।