काठमाडौं । कोभिड–१९ को तेस्रो लहरबाट बैंक तथा वित्तीय संस्थाका ६ हजारभन्दा बढी कर्मचारी संक्रमित संक्रमित भएका छन् । वाणिज्य बैंक सञ्चालकहरुको सङ्गठन नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको आइतबारसम्मको तथ्यांक अनुसार, कर्मचारी संक्रमित भएपछि देशभरका करिब डेढ सयवटा शाखा कार्यालयहरु बन्द गरिएका छन्।
यी शाखाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो। कुल संक्रमितमध्ये ३ हजार २६९ जना वाग्मती प्रदेशभित्र कार्यरत कर्मचारी छन्। वाग्मती प्रदेशभित्रका कुल ९४ वटा शाखा कार्यालयहरु बन्द भएका छन्।
एसोसिएसनले महामारीको तेस्रो लहरमा त्यहाँका अधिकांश कर्मचारी सङ्क्रमित भएकाले यी खण्डका सेवा पूर्णरुपमा ठप्प भएको बताएको छ । नबिल बैंकका सबैभन्दा बढी १९ वटा शाखा बन्द गरेको एसोसिएसन जनाएको छ भने राष्ट्रिय वाणिज्य बैंकले १५ वटा शाखा बन्द भएका छन् ।
क वर्गका वाणिज्य बैंकहरु बाहेक ख वर्गका विकास बैंकहरु, ग वर्गका फाइनान्स कम्पनीहरु र घ वर्गका लघुवित्त कम्पनीहरुका धेरै शाखाहरु बन्द भएका सरोकारवालाहरुले बताएका छन् ।
विकास बैंकहरुको संस्था नेपाल विकास बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले बाँकी शाखाहरु सकेसम्म अधिकतम सुरक्षा उपायहरुका साथ संचालन गरिरहेको बताएका छन्। कतिपय बैंकहरुले खुला भएका शाखाबाट पनि पूर्ण समय सेवा दिन सकिरहेका छैनन्। कर्मचारी अभावका कारण उनीहरुले सेवा समय घटाएका हुन्।