
काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजारमा अत्याधिक संख्यामा मानिसहरु सहभागी हुन थालेका छन् । खासगरी लकडाउनयता विभिन्न कम्पनीको आईपिओ भर्न उल्लेख्य मानिसहरु डिम्याट खाता खोलेर बजारमा प्रवेश गरेको देखिन्छ ।
सिडिएससीको तथ्यांक अनुसार यो हप्तासम्म डिम्याट एकाउन्ट खोल्नेको संख्या ४८ लाख ५ हजार ८२० पुगेको छ । दिनहुँ डिम्याट खोल्नेहरुको संख्या बढीनैरहेको छ । नेपालको जनसंख्या ३ करोड नै मान्ने हो भने पनि करीब १६ प्रतिशत जनसंख्या (करिब ५० लाख) शेयर बजारमा जोडिन डिम्याट खोल्न पुगेको देखिन्छ ।
डिम्याट लिने मध्य मोबाईलबाटै आईपिओ आवेदन गर्न मेरो शेयर एप चलाउनेको संख्या पनि ३९ लाख बढी पुगेको छ । शेयरको अनलाईन खरीद बिक्री गर्ने टिएमएस सेवा लिनेको संख्या पनि २५ लाख नाघेको छ ।
विसं २०४६ पछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशील बनाउन ठूलो सहयोग गर्यो । २०५० मा धितोपत्र कारोबार ऐन २०४० को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुपान्तरण गरियो ।
त्यसपछि नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार सुरु भएको हो । नेपाली शेयर बजारमा दैनिक अर्बौ रुपैयाको कारोबार हुँदै गएको छ ।