२०८१ मंसिर २१ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नै सोधनान्तर घाटा दुई खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले मुलुको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिर मसान्तमा सोधनान्तर घाटा एक खर्ब ९५ अर्ब १ करोड पुगेको जनाएको छ ।

गत आर्थिक वर्षको २०७७/०७८ को यही अवधिमा सोधनान्तर स्थिति एक खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको थियो । यस अवधिमा चालु खाता घाटा तीन अर्ब नाघेको छ । मंसिर मसान्तसम्म चालु खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । गत आवको यही अवधिमा चालु खाता २३ अर्ब मात्रै घाटामा रहेको थियो ।

बढ्दो आयातले चालु खाता र सोधनान्तर घाटा चुलिँदै गएको हो । विदेशी मुद्रा सञ्चितिमा पनि दबाव परेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति राख्ने लक्ष्य चालु मौद्रिक नीतिबाट लिएको थियो । तर, आर्थिक वर्षको ५ महिनामै सञ्चिति घटेर ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने सक्ने अवस्थामा झरेको छ ।

चालु आर्थिक वर्षको ५ महिनामै विदेशी विनिमय सञ्चिति १३.२ प्रतिशतले घटेको राष्ट्र बैंक्ले जनाएको छ । “२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा १३.२ प्रतिशतले कमी घटेर १२ खर्ब १४ अर्ब ३ करोड कायम भएको छ,” राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

नेपाली मुद्रा कमजोर बन्दा अमेरिकी डलरमा यस्तो सञ्चिति १४.७ प्रतिशले घटेको छ । ०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड डलर मंसिर मसान्तमा १० अर्ब ३ करोड डलर कायम भएको छ ।

विशेष गरेर आयातमा भएको उच्च वृद्धि र त्यसलाई भुक्तानी गर्ने विदेशी मुद्राको स्रोत आर्जनको क्षेत्र रेमिट्यान्समा भएको कमी र निर्यातमा वृद्धि भएपनि आयात र निर्यातबीचको ठूलो अन्तरका कारण अर्थतन्त्रका बाह्य परिदृष्य समस्यामा देखिएका हुन् ।

पाँच महिनामा आयात ५९.५ प्रतिशतले बढेर ८ खर्ब ३८ अर्ब ४१ खकरोड र निर्यात १०५.६ प्रतिशतले बढेर १ खर्ब २ अर्ब ९२ करोड पुगेको छ । यही अवधिमा व्यापार घाटा ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ भने रेमिट्यान्स ६.८ प्रतिशतले घटेर ३ खर्ब ८८ अर्ब ५८ करोड कायम भएको छ ।

एकातिर आयातमा उच्च वृद्धि छ भने अर्कोतिर निर्यात बढेपनि आयातको तुलनमा ज्यादै न्यून छ । त्यस्तै विदेशी मुद्रा आर्जन गर्ने माध्यम रेमिट्यान्समा पनि संकुचन आउँदा चालु आर्थिक वर्षको सुरुवातबाटै सोधनान्तर घाटा बढ्दै गएको छ भने विदेशी विनिमय सञ्चिति घट्दै गएको छ । जसले गर्दा अर्थतन्त्रमा समस्या देखिन थालेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यसम्म ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति राख्ने लक्षसहित चालु आवको मौद्रिक नीति ल्याएपनि विदेशी मुद्रा सञ्चिति ५ महिनामै खस्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय