२०८२ जेष्ठ ९ शुक्रबार

सूर्य बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । काठमाण्डौको पुतलीसडकमा कार्यालय रहेको उक्त सहकारी संस्थाको साधारणसभा सरकारद्वारा जारी स्वास्थ्य मापदण्डहरुको परिपालना गर्दै सीमित उपस्थितिमा सम्पन्न भएको हो ।

सो सहकारी संस्थाले हरेक वर्ष आफ्ना सेयर सदस्यहरुको विशाल उपस्थितिमा भव्यरुपमा साधारणसभा आयोजना गर्दै आएकोमा कोरोना महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण गतवर्ष झैं यसवर्ष पनि स्वास्थ्य सुरक्षा सतर्कतासहित अभौतिकरुपमा साधारणसभा सम्पन्न गरेको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभामा अतिथिको रुपमा पत्रकार ताराचन्द्र देवकोटा तथा संस्थाका सञ्चालकहरु र सीमित मात्रामा कर्मचारीहरुको सहभागिता रहेको थियो । फेसबुक लगायत विभिन्न अनलाइन माध्यमबाट साधारणसभाको प्रत्यक्ष प्रशारण गरिएको थियो । सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट पेश भएको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा सभापतिको आशनबाट बोल्ने क्रममा सूर्य बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुशील शाहीले संस्थाको भावी कार्ययोजना र संस्थाले असहज अवस्थाका बाबजुद हासिल गरेका उपलब्धीहरुको बारेमा जानकारी गराउँदै कोरोनाले गर्दा विश्वव्यापीरुपमै उत्पन्न वर्तमान विषम् परिस्थितिमा पनि संस्था सञ्चालनमा धैर्यतापूर्वक साथ दिएकोमा समस्त सदस्यहरुप्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष सुशील शाहीले भन्नुभयो “अत्यन्त प्रतिकुल अवस्थाका बाबजुद यसवर्ष संस्थाले निक्षेप संकलन तथा ऋण लगानीतर्फ वृद्वि गर्न सफल भएको छ । हाल फैलिरहेको कोरोना महामारीले गर्दा हामी आम सेयर सदस्यहरुको उपस्थितिबिना नै साधारणसभा गर्न बाध्य भएका छौं तर आगामी वर्ष यो महामारी निर्मूल वा कम भएको खण्डमा शेयर सदस्यहरुबीचमा नै साधारण सभा गर्नेछौं ।”

“सबैको लागि सूर्य, सूर्य सबैको लागि” भन्ने नारालाई आत्मसाथ गर्दै सञ्चालित यस सहकारी संस्थाले सहकारी मूल्य मान्यताहरुको अनुशरण गर्दै सरल एवं सहज रुपमा सेवाग्राहीमाझ प्रस्तुत भएर मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका लागि छरिएर रहेको स–सानो पूँजीलाई एकिकृतरुपमा परिचालन गरि बित्तीय तथा अन्य सेवा सुविधाहरु उपलब्ध गराई सदस्यहरुको आर्थिकस्तर उकास्न सहयोग पुर्‍याउने कार्य गर्दै आएको छ ।

गत आर्थिक वर्षजस्तै कोरोना महामारीका कारण यस वर्षमा पनि निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित राख्नका लागि संस्थाले सुरक्षित लगानी÷कर्जा सापटीमा सहकारी मूल्य मान्यताअनुसार नीति नियमहरु बनाई धितो लिएर मात्रै लगानी गर्दै आईरहेको जानकारी साधारणसभाको अवसरमा दिइयो । त्यसैगरि सञ्चालक समितिका उपाध्यक्ष गीता क्षेत्री खड्गीले घरायसी कारणले २०७८ असोज १ गते दिनुभएको राजीनामा असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरि उहाँलाई संस्थाको सल्लाहकार चयन गरिएको जानकारी पनि साधारणसभामा गराइयो । उक्त कार्यक्रम संस्थाका कर्मचारी आरजु राजबंशीले सञ्चालन गर्नुभएको थियो ।

सञ्चालक समितिको नियमित बैठक तथा लेखा समिति र ऋण उप–समितिहरुको बैठकमा सहभागी भई संस्थालाई चुस्तदुरुस्त बनाउने कार्यमा पनि संस्थाले पूर्णरुपले भूमिका निर्वाह गर्दै आईरहेको छ । संस्थाले साधारणसभाको अवसर पारेर हरेक वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने संस्थाका सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गर्दै आएकोमा कोरोनाकै कारण यसवर्ष उक्त सम्मान कार्यक्रम पनि हुन सकेन । २०५६ सालमा स्थापित सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी क्षेत्रमा आफनो बेग्लै पहिचान बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय