२०८२ जेष्ठ ९ शुक्रबार

काठमाडौं । राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको छ लाख रुपैयाँको बिमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि पाँच लाखको दुर्घटना र एक लाख रुपैयाँको उपचार बिमा गर्ने सम्बन्धमा अजोड इन्स्योरेन्ससँग सम्झौता गरिएको छ ।

एक कार्यक्रमबीच सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ ।

यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोडसँग दुई वर्षका लागि बिमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टनर र यात्रु दुवै बिमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै उहाँले ढुक्क भएर सहाराको सेवा लिन आग्रहसमेत गर्नुभएको छ । सहारा एपमार्फत् दुईपांग्रे र चारपांग्रे सवारीसाधनबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने कम्पनीले जनाएको छ ।

साथै सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरबाट कुनै किसिमको कमिसन नलिने घोषणा पनि गरेको छ । बजारमा राइडर तथा पार्टनरले कम्पनीलाई २० प्रतिशतसम्म कमिसन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्‍याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यो व्यवस्था छ महिनासम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय