काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बाहिरबाट आउने सामाग्री नेपालमा भन्डारण नहोस् भन्नका लागि ऋणका लागि पत्र (एलसी)मा केही कडाई गरेको बताएका छन् । नेपाल राष्ट्र बैंकद्धारा काठमाडौंमा बुधबार आयोजित अन्तरक्रियामा उनले एलसीमा कडाई नभएर अनुशासनमा पुर्याउने प्रकृया भएको दाबी गरे ।
गभर्नर अधिकारीले विदेशी मुद्रा विनिमय प्रणालीका लागि अध्ययन गर्ने बेला भएको बताएका छन्। उनले विनिमय प्रणाली परिवर्तन गर्ने कुरा एकदमै ‘कम्प्लेक्स’ बिषय भएको भन्दै यसका बारेमा सोच्नका लागि अध्ययन हुनु पर्ने बताए।
कार्यक्रममा राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा प्रकाशकुमार श्रेष्ठले आर्थिक क्रियाकलाप बढेपनि मूल्यबृद्धिदर निर्धारण गरेको लक्ष्यभन्दा कम हुने जानकारी दिए । कोभिडपछि विदेशमा मूल्यबृद्धिदरमा ठूलो चाप परेपनि नेपालले त्यो भोग्न नपरेको उनको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्दा चुनौती भएपछि पछिल्लो समय घटेको कारण केही राहत भएको उनले टिप्पणी गरे । ५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म अस्थायी तरलता सुविधामार्फत रु. २५०० अर्ब, ओभरनाइट रिपोटमार्फत रु. ६९ अर्ब, रिपोमार्फत रु. २२० अर्ब र सोझै खरिदमार्फत रु. २७ अर्ब रुपैयाँ प्रवाह गरिएको जनाएको छ । २०४२ सालमा मुलुकको शोधनान्तर अवस्था बिग्रिएपछि अन्तर्राष्ट्रिय मुद्रा कोषले रेस्क्यू गरेर अर्थतन्त्र बचाएको हो । २०५८ सालमा पनि शोधनान्तर नराम्री बिग्रिएको थियो ।