
काठमाडौं । नेपाल वेयर हाउस कम्पनीको तेस्रो साधारणसभा कम्पनीका अध्यक्ष आनन्दकुमार बगडियाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीले विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँ पुर्याउने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । जसमध्ये कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ सेयर निष्काशन गरी संकलन गर्ने भएको छ ।
एभरेस्ट बैंकको सहवित्तीयकरण अगुवाइमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयहरूबाट कुल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ । निम्बस ग्रुप, शिखर इन्स्योरेन्स, एनएमबी बैंक, श्रीनगर एग्रो फार्म, टिएएनए इन्भेस्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको कम्पनीमा थप केही व्यावसायिक र वित्तीय संस्थाले १५ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।
कम्पनीले अन्न भण्डारणका साथै वेयर हाउस रिसिप्ट फाइनान्सिङ, अक्सन मार्केट सुविधा, बल्क टान्सपोर्टेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने जनाएको छ ।