काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघमा नयाँ नेतृत्व चयन भएको छ । सिम्रिक एयरका कार्यकारी अध्यक्ष रामेश्वर थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो
संघको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितीय उपाध्यक्ष सौर्य एयरलाइन्सका गोपाल भट्टराई, तृतीय उपाध्यक्षमा अल्टिच्युड एयरका निमा नुरु शेर्पा, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रूपेश जोशी रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा हेली एभरेस्टका फुरु ग्याल्जे शेर्पा, प्रभु हेलिकप्टरका सुवास अमात्य, श्री एयरलाइन्सका अनिल मानन्धर, गुण एयरलाइन्सका प्रज्वल थापा, कैलाश हेलिकप्टरका श्रीहरि कुईंकेल र एयर डाइनेस्टी हेलिभ सर्भिसेजका बालकृष्ण पण्डित रहनुभएको छ ।
अध्यक्ष थापाले आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाइमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै लैजाने बताउनुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्या समाधान गर्ने बताउनुभयो ।