काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैंकहरुमा कर्जाको माग अत्यधिक बढ्दा तरलतामा चाप परेको बताउनु भयो ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाकाबारे जानकारी दिर्दै गभर्नर अहिलेसम्म बैंकहरुबाट ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रै भएकाले वित्तीय प्रणालीमा तरलतामा चाप परेको बताउनु भयो। गर्भनर अधिकारीले अहिले पनि वित्तीय प्रणालीमा कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर रहेको बताउनुभयो । पछिल्लो समय ५० प्रतिशत कर्जा आयातमा मात्रै बाहिर जाँदा तरलता थप अभाव भएको बताउनु भयो ।
चालु आर्थिक वर्षको चार महिनामा मात्रै राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि मात्रै २३ खर्ब ८६ अर्ब रुपैयाँ रिपोमार्फत् बैंकिङ प्रणाली पठाएको बताउनु भयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले आयात रोक्न नसक्ने तर निरुत्साहित गर्ने नीति बनाउने बताउनु भयो ।
उहाँले आयातलाइ निरुत्साहित गर्र्ने विषयमा अर्थमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंकर संघसँग छलफल भइरहेको बताउनुभयो । गभर्नर अधिकारीले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने बताउनु भयो । त्यस्तै, मंसिर महिना पछि बैंकहरुको वेस रेट ब्याजदर बृद्धि हुनसक्ने बताउनु भयो।
गभर्नर अधिकारीले शेयर बजारमा बुझेर मात्रै लगानी गर्नु पर्ने बताउनु भयो । यहाँले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयर बजारमा लगानी ओइरिएकाले बजारा उच्च बिन्दुमा पुगेको बताउनु भयो ।
गभर्नर अधिकारीले कम्पनीको वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नु भयो । गभर्नर अधिकारीले कम्पनीको ग्रोथ कम भएको तर शेयर मूल्य बढेको बढ्यै गर्नु स्वभाविक नभएको बताउनुभयो ।शेयर बजारलाई नियमन गर्न राष्ट्र बैंकले सेबोनलाई दिएको बताउनु भयो ।