
काठमाडाैं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा फोर्स मोटरका अधिकृत बिक्रेता तथा पोखराका अटो व्यवसायी ध्रुव थापा विजयी भएका छन् ।
४५औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व छान्न भएको चुनाव भएकाे थियाे । नाडा निर्वाचन समितिका अनुसार थापाले मारुती सुजुकीको अधिकृत बिक्रेता सीजी मोटोकर्पका करण चौधरीलाई ६६ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मतगणनाअनुसार अध्यक्षमा विजयी थापाले कुल १४ सय १३ मत ल्याउँदा चौधरीले १३ सय ४७ मत मात्रै प्राप्त गरे । अध्यक्षमा थापा विजयी भए पनि १७ कार्यसमिति सदस्यमा भने चौधरी पक्षका बहुमत सदस्य विजयी भएका छन् । यसअनुसार १७ सदस्यीय कार्यसमितिमा १२ जना करण चौधरीको प्यानलबाट र ५ जना ध्रुव थापा प्यानलबाट कार्यसमिति सदस्यमा विजयी भएका छन्।
करण चौधरीको प्यानलबाट मिलनबाबु मल्ल १४ सय ६५, अनुप कुमार बराल १४ सय ६३, राजनबाबु श्रेष्ठ १४ सय ५७, सुरेन्द्र कुमार उप्रेती १४ सय ३२, सुनिल रिजाल १४ सय २, अभिक ज्योति १३ सय ८३, प्रकाश कपुरी १३ सय ७९, विक्रम सिंघानियाले १३ सय ७१ मत र गोपाल भट्टराईले १३६५ पाई विजयी भएका छन् ।
त्यस्तै निलमणि पाठक १३ सय ५४, वरदान बस्नेत १३ सय ५० र पंकज अग्रवालले १३ सय ३४ मत पाई विजयी भएका छन्। यी सबै करण चौधरीको प्यानलबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरु हुन्। ध्रुव थापाको प्यानलबाट भने निराकर श्रेष्ठ १३ सय ६४, यमुना श्रेष्ठ १३ सय ५५, कपिल शिवाकोटी १३ सय ४८, प्रदिपमान प्रधान १३ सय ४६ र आकाश गोल्छा १३ सय ३९ मत पाई विजयी भएका छन् ।
नाडा निर्वाचन समितिअनुसार २७ सय ८८ मत खसेको थियो। यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।