काठमाडौँ । पछिल्लो समय नेपाली शेयर बजारमा निरन्तर ठूलो अंकको गिरावट आएसँगै शेयर लगानीकर्ताहरुको निशानामा अर्थमन्त्री समेत परेका छन् । पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा नो भोट भन्दै उनीहरुले अभियान नै चलाएका छन् ।
लगानीकर्ताहरुका संगठनको पहलमा पुँजी बजारलाई बेवास्ता गर्ने राजनीतिक दल र तिनका नेता तथा मन्त्रीहरुलाई आगामी निर्वाचनमा भोट नदिने भन्दै उनीहरुले व्यापक प्रचार गरिरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत ‘नो भोट’ अभियानलाई व्यापक रुपमा अघि बढाउने संगठित निर्णय नै गरेका छन् ।
यससँगै अनुदार अर्थमन्त्री मानिएका जनार्दन शर्मा अहिले लगानीकर्ताको तारो (निशाना) बनेका हुन् । अर्थमन्त्रीको फेसबुक प्रोफाइल तस्वीर अन्य तस्वीरमा लगानीकर्ताहरुले आगामी चुनावमा नो भोट भन्दै व्यापक कमेन्ट गरेर दबाब दिइरहेका छन् ।
उनीहरुले करिब ४५ लाखको हाराहारीमा रहेका डिम्याट खाता होल्डरको तथ्यांकका आधारमा त्यत्रो संख्याका मतदाताले आगामी चुनावमा भोट नदिने भन्दै प्रचार गरेका हुन् ।
माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका शर्माले सुरुका दिनमा शेयर बजारप्रति सकारात्मक अभिव्यक्ति दिएका थिए । तर पछि उनले दोधारे प्रवृत्ति अपनाएको र लामो समय लगानीकर्ताहरुले संघर्ष गर्दै पुँजीबजार सुधारका लागि र लगानीकर्ताहरुको सम्पत्ति सुरक्षाका लागि भेटेर सुझावका साथै दबाब समेत दिँदै आएका थिए ।
तर पनि शेयर बजारमा लगानीकर्ताको मनोबल उकासिने खालका कुनै निर्णय सरकारी स्तरबाट हुन नसक्दा र नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथ नेप्सेमा समेत लामो समय नेतृत्वविहीनताको अवस्था आउँदा बजार निरन्तर ओरालो लागिरहेको छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको नीतिले पनि बजार घट्न दबाब परेको विश्लेशषण हुँदै आएको थियो । विशेषगरी शेयर धितो कर्जामा गरिएको कडाइ तथा बैंकिङ प्रणालीमा तरलता अभाव, ब्याजदर वृद्धि र सरकारी खर्च बढ्न नसक्नु जस्ता कारणले शेयर बजारमा लगानीकर्ताको मनोबल गिरेको छ ।
अहिले लगानीकर्ताहरुले ‘पुँजी बजार विरोधीहरुलाई आगामी चुनावमा नो भोट, ४५ लाख लगानीकर्ताको आवाज’ लगायतका विभिन्न खालको स्लोगन राख्दै फेसबुक प्रोफाइलहरु ट्याग गर्न थालेका छन् । सरकार तथा नियामकका कारण पुँजी बजार दिनदिनै धराशायी बन्दै गएपछि लगानीकर्ताहरुको अर्बौंको सम्पत्ति घटिरहेको छ भने कारोबार रकम समेत घट्दा सरकारलाई जाने राजश्व समेत घटेको छ ।
अर्थमन्त्री शर्माको प्रोफाइल तस्वीरमा सविता बराल लेख्छिन्, ‘आगामी चुनावमा ४८ लाख लगानीकर्ताले सम्झिनेछन् । माफियाहरुसँग लिएको कमिसनले हाम्रो भोट किन्न नसोचे हुन्छ है, किनकि हामी रक्सी–मासुमा बिक्दैनौँ । पुँजिबजार बिरोधी होसियार !’
अर्का लगानीकर्ता प्रकाश सुवेदीले भनेका छन्, ‘पुँजिबजारलाई जुवाघर बनाउने अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गर्ने अभियानमा मेरो पनि एेृक्यवद्धता छ ।’
स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की लगायत अरु धेरै लगानीकर्ताले ‘पुँजीबजार विरोधीलाई बहिस्कार गरौँ । नो भोट !’ भन्दै अर्थमन्त्रीका तस्वीर तथा पाेस्टहरूमा व्यापक कमेन्टहरु गरिरहेका छन् ।
अध्यक्ष कार्की भन्छन्, ‘हामीले अहिले अभियानको पहिलो चरणस्वरुपः सामाजिक सञ्जालमार्फत सरोकारवाला निकायलाई दबाब दिइरहेका छौँ । यदि, सरोकारवाला निकायले यसमा पनि कुनै वास्ता गरेनन् भने हामी देशव्यापी रुपमा सशक्त अभियान चलाउँछौँ ।’
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले ४५ लाखभन्दा धेरै लगानीकर्ताले पुँजीबजार प्रति गम्भीर नहुने राजनीतिक दलका नेतालाई किन भोट दिने भनेर नै ‘नो भोट’ अभियान सुरु गरेको बताए । चुनाव जितेर सरकारमा जाने राजनीतिक दलका नेताको प्राथमिकता आफ्ना भोटरप्रति हुनुपर्ने भन्दै उनले भने, ‘लागानीकर्ताको अर्बौंको सम्पत्ति गुमदा बेवास्ता गर्ने सरकार र राजनीतिक दलका नेताहरुलाई भोट दिनु हुँदैन ।’
सेयर बजार दबाब समूहका महासचिव नयन बास्तोलाले लगानीकर्ताको हितका लागि अर्थमन्त्री नै गम्भीर नरहेको बताएका छन् । उनले पुँजीबजारको पछिल्लो अवस्थाबारे जानकारी गराउन अर्थमन्त्रीलाई भेट्न कोसिस गर्दा पनि समय नदिइएको बताए । स्वयं मन्त्री र नियामक निकायहरुबाटै सुधारको सट्टा मनोबल गिराउने काम भएकोले नै बजार लगातार घटिरहेको उनको बुझाइ छ ।
पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि ‘नो–भोट’ अभियानमा ऐक्यबद्धता जनाउँदै भनेकी छन्, ‘आफ्नै भोटरको लगानी सुरक्षा गर्न नसक्ने राजनीतिक दल र तिनका नेताहरुलाई हामीले किन भोट दिने ? पुँजी बजार सुधार र विस्तारका लागि काम नगर्ने भोट दिनु हुँदैन ।’