
काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष ३ खर्ब ४९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। नेपाल बैंकर्स संघका अनुसार मंसिर १७ गतेसम्म बैंकहरुले निक्षेप भने जम्मा २५ अर्ब रुपैयाँले मात्र बढाएका छन्।
पछिल्लो एक सातामा निक्षेप जम्मा सात अर्ब रुपैयाँले बढ्दा ऋण १४ अर्बले बढेको छ। मंसिर महिनाको हिसाब गर्ने हो भने निक्षेप कात्तिकको तुलनामा सात अर्ब रुपैयाँले घटेको छ। यही अवधिमा ऋण भने ३५ अर्ब रुपैयाँ गएको छ।
बैंकहरुले निक्षेप संकलन नगरी अत्याधिक ऋण प्रवाह गरेका कारण अहिले तरलता अभाव चर्किएको छ। बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। केही बैंकको ९७ प्रतिशतसम्म सीडी रेसियो पुगेको छ। बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। बैंक ऋण ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ।