काठमाडौं । असोजको तुलनामा कात्तिकमा फोन आयात ओरालो लागेको छ। मूल्यका हिसाबले कात्तिकमा अघिल्लो महिनाभन्दा तीन अर्ब ६३ करोड रुपैयाँ कम फोन आयात भएको छ।
कात्तिकमा तीन अर्ब १८ करोड रुपैयाँबराबरको तीन लाख ९२ हजार ६०४ थान मात्रै मोबाइल आयात भएको भन्सार विभागले जनाएको छ। फोन आयात घट्दा सरकारले संकलन गर्ने भन्सार महशुल पनि कात्तिकमा ५७ करोड ४७ लाखले घटेको छ।
असोजमा ६ अर्ब ८१ करोड ३६ लाख रुपैयाँबराबरको सात लाख १० हजार ४११ थान फोन आयात भएको थियो। जसबाट सरकारले एक अर्ब रुपैयाँभन्दा बढी भन्सार उठाएको थियो।
असोजमा दसैंतिहार नजिकिएसँगै फोन आयात ह्वात्तै बढेको थियो। दसैंतिहारमा कपडा, जुत्ता चप्पल मात्रै होइन मोटरसाइकल, कार, मोबाइल, फ्रिजलगायत सामानको व्यापार ह्वातै बढ्ने गरेको छ।
दसैंमा अतिरिक्त एक महिनाको तलब समेत आउने हुँदा खर्चयोग्य आय (डिस्पोजेबल इन्कम)ले ती सामानहरु किन्नेको संख्या बढी हुने गर्छ। जसका कारण व्यवसायीहरुले अधिक मात्रामा फोन आयात गरेका थिए।
यस्तै, चिप अभावका कारण मोबाइल फोन उत्पादन तथा बिक्रीमा गम्भीर असर परेका कारण व्यवसायीहरुले पर्याप्त मात्रामा फोन आयात गर्न सकेका छैनन्। विभिन्न ब्राण्डका फोनहरु अहिले पनि ग्राहकहरुले समय कुरेरै किन्नुपर्ने अवस्था छ।















