२०८१ माघ २५ शुक्रबार

गोपीकृष्ण न्यौपाने यस्तो बेलामा उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक नियुक्त भएका थिए, जतिवेला उद्योग दुई बर्षदेखि नेतृत्वविहीन थियो । उद्योग बन्दजस्तै अवस्थावाट गुज्रिँदैथ्यो । खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका उनीसँग उद्योग उकास्ने रोडम्यापचाहिँ थियो । महाप्रबन्धक न्यौपाने उदयपुर सिमेन्ट उद्योगको विकासका लागि दत्तचित्त भएर लागिपरेका छन् । परिणामत कार्यकालको १० महिनामा नै उद्योगलाई तंग्य्राउन उनी सफल हुँदै गएका छन् । उनका प्रसंशकहरु देखिन थालेका छन् । गैडा छाप सिमेन्टको ब्रान्ड बनाएको उदयपुर सिमेन्टको विगत जति गौरवपूर्ण थियो, वर्तमान त्यति सन्तोषजनक छैन । अनि भविश्य ? सायद यसको जवाफ महाप्रबन्धक न्यौपानेसँग मात्रै छ । यिनै विविध विषयमा उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेसँगको कुराकानी सान्दर्भिक ठानेर नेपालअर्थबाट साभार प्रस्तुत गरिएको छ :

तपाईं उदयपुर सिमेन्टको महाप्रबन्धक नियुक्त हुनुभएको १० महिना पुरा भएको छ । प्रगति विवरण सुनाउने बेला भएन ?
सबैलाई थाहा छ, म महाप्रबन्धक भएर जाँदा उद्योग दुई बर्षदेखि नेतृत्वविहीन थियो । लामो समय नेतृत्व विहीन संस्था कस्तो हुन्छ, कल्पना गर्नुहोस् । उद्योग बन्दजस्तो अवस्थामा थियो । उद्योगमा कोइला समेत थिएन । उत्पादन रोकिएको थियो ।
उदयपुर सिमेन्ट उद्योग व्यवस्थित थिएन भन्न खोज्नु भएको हो ?
निश्चय नै व्यवस्थित थिएन । अचम्मको कुरा इन्टरनल अडिट हुँदो रहेनछ । अर्कोकुरा २०६३–०६४ देखि साधारणसभा समेत नभएको अवस्था । अहिलेसम्म कम्पनी रजिष्ट्रारमा एउटा पनि अभिलेख दर्ता गरिएको रहेनछ । यी काम सम्पन्न गरियो । ठूलो जरिवाना लाग्थ्यो, हालको अर्थमन्त्रीले ५ प्रतिशत मात्र तिर्दा हुने बनाइदिएर राहत दिनुभएको छ । धेरै किसिमका बिकृति स्थापित थिए उद्योगमा ।
तपाईंको मुख्य प्राथमिकता चाहिँ केमा हो ?
म महाप्रबन्धक नियुक्त भएपछि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेँ । विभिन्न संस्था हाँकेको लामो अनुभवलाई राष्ट्र सेवामा लगाउनु पर्छ भन्ने सोचले म सक्रिय भएँ । सोही अनुसार परिणाम देखिन थाल्यो । केही महिनामा नै हामीले उत्पादनको रेकर्ड कायम गरेऊँ । ‘अफ सिजन’ मानिने साउन–भदौमा अरुवेला उद्योग बन्द हुन्थ्यो । यसबर्ष साउनमा १ लाख ८० बोरा र भदौमा २ लाख ४० बोरा उत्पादन गर्‍यौं । यस उद्योगको मुल कुरा नै उत्पादनसँग सम्बन्धित छ । सँगसँगै मूल्य कम गर्दै जाने पनि योजना हो ।
वितरणमा समस्या छैन ?
गैडा छाप सिमेन्ट आफैंमा ठूलो ब्रान्ड हो । यसको उत्पादन नियमित नभएकाले मान्छेले यसको उत्पादन छ र ? भन्ने अवस्था सृजना भएको थियो । उत्पादन भएपनि हामीले पाउँछौं र ? भन्ने पनि छ । यसकालागि नियमित उत्पादन र ठूलो परिणाममा उत्पादन गर्न सकेको खण्डमा सवैखाले समस्या आफैं हल भएर जान्छन् । हामीले अहिले प्रदेश १ र २ लाई प्राथमिकतामा राखेका छौं । एउटा उदाहरण, हाम्रो उत्पादन काठमाडौं छिरेको प्रमाणित भएपछि बोराको ३० रुपैयाँ फिर्ता गर्ने नीति बनाएका छौं ।
जे जति कुरा गरेपनि थोत्रो उद्योगले भनेजति उत्पादन गर्न सक्ला र ?
सही हो । जापान सरकारले निर्माण गरेर दिएको पनि तीन दशक पुरा भइसकेको छ । यस अर्थ यसले भनेजति उत्पादन दिन सक्दैन । अपग्रेड गर्ने, उद्योग थप्ने लगायतका कुरा त छँदैछन् । तर यसै हालतमा पनि हामीले नियमित चलाउन सकेको खण्डमा निराश हुनुपर्ने अवस्था रहँदैन । अव हामीले सिजनमा २४ लाख बोरा उत्पादन गर्ने लक्ष्य लिएका छौं । २४ लाख बोरा भनेको यस उद्योगको क्षमताको ४७ प्रतिसत मात्रै हो । तर, यही ४७ प्रतिसत उत्पादनले पनि हामीलाई १६ करोड फाइदा हुन्छ ।
गैडा छाप सिमेन्टको विशेषता चाहिँ के हो ? अरुभन्दा के कुरामा फरक छ ?
राम्रो प्रश्न । हाम्रो सिमेन्ट स्तरको हिसावमा असाध्यै राम्रो छ । यसमा हुनुपर्ने तत्वले यो पूर्ण छ । राम्रो सिमेन्ट छिटो सेटिङ हुन्छ । छिटो सेटिङ हुनाले यसले धेरै पानी खोज्छ । राम्रोसँग पानी पुर्‍याउन सकेको खण्डमा यो असाध्यै दर्हो हुन्छ । कमसेकम १५ दिन पानी लगाउनु पर्छ नै । पानी नपु¥याउँदा रेशाहरु देखिने हुन्छ । यसमा मान्छेमा केही भ्रम पनि छ । अर्कोकुरा ५३ ग्रेडको सिमेन्ट हाम्रो मात्र हो । अरु सिमेन्ट ८ बोरा लाग्ने ठाउँमा हाम्रो सिमेन्ट ६ बोराले पुग्छ ।
उदयपुर सिमेन्टका उल्लेख्य विशेषता पनि छन् कि ?
उदयपुर सिमेन्टको आफ्नै खानी हो । यो एउटै चट्टान हो । एक सय ९ मिटर गहिरो, ५ बर्ग मिटरमा फैलिएको । दुई प्रतिसतभन्दा कम एमजीओ भएको । यस्तो राम्रो चुनढुंगा भएको खण्डमा जापानमा सिसा बनाइन्छ रे । हाम्रो खानीको पूर्ण क्यापसिटी ७ करोड ३५ लाख मेट्रिक टन उत्पादन हो । अहिलेसम्म हामीले १० प्रतिसत मात्रै चलाएका छौं । यही हिसावमा खानी चलाएर सक्न ४ सय बर्षभन्दा बढी समय लाग्छ ।
उदयपुर सिमेन्ट उद्योग उकास्ने तपाईंका भावी योजना बताईदिनुस् न,
२४ बर्ष प्राइभेट सेक्टरमा जिएम भएर काम गरेको, १० बर्षसम्म ठूला इन्डष्ट्रिमा काम गरेको, बाणिज्य बैंकमा १० बर्ष डाइरेक्टर भएर बसेको, सक्रिय अडिटर र लयर पनि हुँ । यी तमाम् अनुभवका आधारमा मैले यसको नेतृत्व गरेर राष्ट्र सेवा गर्ने संकल्प गरेको हुँ । प्रदेश १ मेरो जन्मस्थल पनि हो । मैले १ नं प्रदेशका १४ जिल्लाको प्राकृतिक स्रोतमाथि अध्ययन गरेको छु । यी सवै अनुभवका आधारमा भन्नुपर्दा पहिलो नम्बर यस उद्योगलाई ‘सस्टेन्ट’गर्ने नै मेरो पहिलो प्रयास हुने छ । दोस्रो र दीर्घकालीन काम भनेको ६ हजार टनको अर्को उद्योग थप्ने नै हो । यसरी अर्को उद्योग थप्दा पनि हामीलाई त्यही खानीले ३० बर्ष पुग्छ । यहीवीचमा अर्को खानी खोज्ने हो । नेपालमा खानीको अभाव छैन ।
अर्कोकुरा हामी ओपिसी सिमेन्टमा सीमित छौं । पीपीसी सिमेन्ट उत्पादन गर्नु छ । ह्वाइट सिमेन्ट कसैले पनि उत्पादन गरेको छैन । हामी त्यो गर्न सक्छौं । मुलकुरा उत्पादन बढाउने र मूल्य कम गर्ने नीति लिनु पर्छ । गुणस्तरीय सामाग्री प्रयोग गर्नुको मतलव राष्ट्र बलियो बनाउनु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय